काठमाडौं, साउन ३२ गते सहकारी संस्थाहरुको अनुगमन गर्न प्रमुख राजनीतिक दलका नेताहरुले नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमपछि एमालेका नेता खगराज अधिकारी,माओवादी केन्द्र का नेता लिलामणी पोखरेलल लगायतले कडा कानून र अनुगमनमा कडाई नगरेका कारण सहकारी संस्थाहरुमा विकृति भित्रिएको भन्दै सरकारको आलोचना गरे ।
सत्तारुढ माआवादी केन्द्रका नेता पोखरेलले सहकारी संस्थाहरु समाजवादमा जाने मुख्य आधार भएकाले सरकारले त्यसलाई सोही अनुसार अघि बढाउनुपर्ने बताए । उनले जथाभावी सहकारी संस्था दर्ता प्रक्रिया अघि नबढाउन पनि सरकारलाई सचेत गराए । एमालेका नेता खगराज अधिकारीले सरकारले ध्यान नदिएका कारण सहकारी संस्थाहरुमा विकृति भित्रिएको आरोप लगाए ।
उनले सहकारी संस्थाहरुको उचित परिचालन हुनेगरी कानून संशोधन गर्न पनि सरकारसँग माग गरे । सरकारले सहकारी संस्थाहरुलाई आवश्यक सहुलियत र सुविधाहरु पनि उपलब्ध गराउनुपर्ने नेता अधिकारीको भनाई थियो । नेता अधिकारीले केही सहकारी संस्थाहरुको कमजोरीलाई लिएर सबै सहकारी उस्तै हुन् भन्ने भनाई सही नभएको बताए । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का पूर्वअध्यक्ष केशव बडालले सहकारीबारे गहि¥याईमा पुगेर बुझ्न र त्यसको सचित व्यवस्थापन हुने गरी नीतिगत निर्णयहरु गर्न सरकार,संसद र राजनीतिक दलहरुलाई आग्रह गरे ।
उनले संविधानमा व्यवस्था गरे अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारी विकल्प नभएको पनि स्पष्ट पारे । कार्यक्रममा बोल्दै कानूनविद् काशीराज दाहालले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्नका लागि कानूनमा सुधार र नियमनको कामलाई सरकारले प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।