Prithvi Post

७ बैशाख २०८२, आईतवार

भदौ-०९,भक्तपुर

सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग (सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

सिङ्गापुर लागू औषध तस्करी गर्नेलाई मृत्युदण्डको कठोर सजाय दिने मुलुकमध्येको एक हो । उसले मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको छ । हालै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र तीस ग्राम हेरोइन बोकेको आरोपमा दोषी ठहर गर्दै एक महिलालाई मृत्युदण्ड दिएको थियो । सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो । बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो।

सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टी इन्टरनेश्नललगायत मानवअधिकारवादी सङ्घसंस्थाले गर्दै आएका छन् । विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको उनीहरूले बताएका छन् ।

सिएनबीले दुई साता लामो कारवाहीका क्रममा करिब एक हजार तीन सय १८ ग्राम हेरोइन, दुई हजार पाँच सय ३५ ग्राम गाँजा, चार सय ८६ ग्राम ‘आइस’ र एक सय ८८ ग्राम केटामाइनलगायत लागूऔषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धित लागू औषध राखेको अभियोगमा पक्राउ परेकामध्येमा एक जना १५ वर्षकी किशोरी र १७ वर्षका किशोरसमेत छन् । सिएनबीले पक्राउ परेका सबै संदिग्धमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0