काठमाडौं, असोज ३० गते, प्रधानमन्त्री ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा भएको बताएका छन् । मङ्गलबार ६८ औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
‘‘आम नागरिकका हरेक सरोकार र राज्यका हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर ती सरोकार र समस्याको सम्बोधन र समाधान गरेको छ ।,’’ उनले भने,‘‘आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा हो ।’’
उनले प्रहरी समाजको एउटा यस्तो अङ्ग हो, जो समाज सँगसँगै समयसापेक्ष परिवर्तन हुँदै जान्छ र जानु पर्ने बताउनुभएको छ ।प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले पनि आफू र आफ्नो सेवा प्रवाहलाई समय सापेक्ष आधुनिकीकरण गर्दै अहिलेको अवस्थामा एउटा आधुनिक, दक्ष, जिम्मेवार अनि राष्ट्रिय साथै अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको बताए ।
सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याती प्राप्त गरेको छ, यो हाम्रा लागि महत्त्वपूर्ण पुँजीसमेत भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यो संगठनको क्षमता र दक्षतामा हुने अभिवृद्धिसँग सरकारको सफलता पनि समेटिने हुनाले यस संगठनको समय सापेक्ष आधुनिकीकरणका लागि म र मेरो नेतृत्वमा रहेको सरकार अत्यन्त गम्भीर छ । यसै यथार्थलाई मध्यनजर गर्दै नेपाल प्रहरीको वृत्ति विकास, परिचालन र समन्वयमा नेपाल सरकारले वैज्ञानिक विधि र पद्धतिको पालना गरेको र यसले संगठनभित्र सबैले समान न्याय एवम् आत्मसम्मानको प्रत्याभूत गरेको कुरा सिङ्गो देशले अनुभूत गरेको छ ।’’
प्रधामन्त्रीले थप्दै भने, ‘‘नेपाल सरकार नेपाल प्रहरीका विभिन्न श्रेणीका अधिृकतदेखि जवानसम्म सबैको साझा अभिभावक हो, सबैलाई समान र न्यायपूर्ण व्यवहार गर्दछ भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिएको छ ।