अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ ।
नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् । बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स,यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स,ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।
रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनाल पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताए । उनले आफ्नो कम्पनीले रु दुई करोड ५० लाखमा दुईवटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गरेका छन् ।
यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी काठमाडौँदेखि पोखरा र सुनौली आठवटा पर्यटक बसले सेवा प्रदान गरेको बताए । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भएपनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गरेका छन् ।