भक्तपुर । मंसिर २८ गते शुक्रबारदेखि सुरु भएको पाँंचदिने भक्तपुर महोत्सव २०८१ पुस २ गते मंगलबार टुंगिंदैछ । महोत्सवको अन्तिम दिन मंगलबार भक्तपुर दरवार स्क्वायरमा समापन कार्यक्रम हुनेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको प्रमुख आतिथ्यतामा दिउँंसो २ बजेबाट भक्तपुर दरवार क्षेत्र लायकूको खुल्ला क्षेत्रमा समापन कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । यसअघि उदघाटन पनि बिजुक्छेंकै प्रमुख आतिथ्यतामा दरवार क्षेत्रमै भएको थियो ।
दरवार क्षेत्रमा समापन कार्यक्रम भए पनि नगरका टोलटोल, वडावडामा भइरहेका प्रदर्शनीहरु निरन्तर जारी रहने जनाइएको छ । त्यसकारण अन्य दिनहरुमा जस्तै अन्तिम दिन मंगलबार पनि विहान १० बजेदेखि साँंझ ५ बजेसम्म नै महोत्सव हेर्न सकिने जनाइएको छ ।
महोत्सव हेर्न काठमाडौं उपत्यकासहित उपत्यका बाहिरबाट दैनिक एकदेखि दुई लाख आन्तरिक पर्यटक आएको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ । विदाको दिन शनिबार र आइतबार दुई दिन दुईदुई लाख र अन्य दिनहरुमा एक लाखको हाराहारीमा पाहुनाहरु भक्तपुर महोत्सव हेर्न पुगेको उसले जनाएको छ । महोत्सव हेर्नका लागि आयोजक भक्तपुर नगरपालिकाको निमन्त्रणामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायत देशका विभिन्न महानगरपालिका, नगरपालिका तथा गाउँंपालिकाका प्रमुख उपप्रमुखहरु भक्तपुर पुगेकोे आयोजक नगरपालिकाले जनाएको छ । साथै विदेशी राजदूतहरुलाइ पनि विशेष निमन्त्रणा गरी भक्तपुर महोत्सवको अवलोकन भ्रमण गराइएको नगरपालिकाले जनाएको छ ।
अन्तिम दिन मंगलबार अझ विशेष सहभागिता हुने आशा आयोजकले गरेको छ । २६ वर्षपछि यति बृहत रुपमा भएको यो दोश्रो भक्तपुर महोत्सव हो ।
तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ (निबन्धसंग्रह) पुस्तक विमोचन
भक्तपुर महोत्सवकै क्रममा सोमबार वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ (निबन्धसंग्रह) पुस्तक विमोचन गरिएको छ । महोत्सवको क्रममा पुस्तक प्रदर्शनी भइरहेको भक्तपुर नगरपालिका क्षेत्रको कमलविमनायक लामगालमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको छ । पुस्तक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विमोचन गरेका थिए । साहित्यकार तेजेश्वरबाबु ग्वंगःले विगतका आफ्ना साहित्य लेखनको अनुभव सुनाउँदैै आफुले नेपाल भाषा, नेपाली भाषा र अंग्रेजी भाषामा सहित्य लेख्दै आएको समेत बताए । वरिष्ठ निबन्धकार एवं पुस्तकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सुन्दर स्वदेश प्रकाशनका अध्यक्ष ऋषिराम पाण्डे र प्रदिप सापकोटाले पनि साहित्यका विविध विषयहरुमाथि चर्चा गरेका थिए ।
सहकारी आवाज विमोचित
भक्तपुर महोत्सवकै क्रममा सोमबार भक्तपुर महोत्सव २०८१ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सहकारी आवाज’ बुलेटिन एक कार्यक्रमबीच विमोचन गरिएको छ । संघीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले विमोचन गरेका हुन् । महोत्सव अन्तर्गत भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीमा भइरहेको सहकारी गतिविधिसम्बन्धी प्रदर्शनीस्थलमा विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1