Prithvi Post

६ बैशाख २०८२, शनिबार

भक्तपुर । भक्तपुर जिल्लामा आत्महत्या गर्नेहरुको संख्या डरलाग्दो देखिएको छ ।
भक्तपुर अस्पतालले राखेको तथ्यांक अनुसार जिल्लामा पछिल्लो आर्थिक वर्ष २०८०।८१ मा ६६ जनाले आत्महत्या गरेका थिए । तीमध्ये ५३ जनाले झुण्डिएर, १२ जनाले विष खाएर र एकजनाले आगो लगाएर आत्महत्या गरेका थिए ।
आत्महत्या गर्नेहरुमध्ये ४२ जना पुरुष र २२ जना महिला रहेको तथ्यांक छ । चालू आर्थिक वर्षको मंसिरसम्म भने जिल्लामा २६ जनाले आत्महत्या गरिसकेका छन् । तीमध्ये १५ जना पुरुष, नौ जना महिला, एक वालक र एक बालिका रहेका छन् । उमेर अनुसार ती आत्महत्या गर्नेहरुमध्ये दुई जना १६ वर्ष मुनिका रहेको तथ्यांक छ ।
जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि बिहीबार गरेको भक्तपुर जिल्लास्तरीय आत्महत्या न्ुयुनीकरण तथा व्यवस्थापन कार्यदल गठन तथा अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीको अध्यक्षतामा भक्तपुर जिल्लास्तरीय आत्महत्या न्ुयुनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरेको थियो । कार्यदलमा जनस्वास्थ्य कार्यालय भक्तपुर, भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर चेम्वर अफ कमर्स, प्रहरी, पत्रकार, मनोचिकित्सकलगायतका सरोकारवाला संस्थाहरुका प्रतिनिधिहरु सदस्य रहेका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भक्तपुर जिल्लाको क्रममा कुन पालिका वा वडा वा ठाउँंमा आत्महत्या तथ्यांक कस्तो छ तथ्यांक केलाएर अगाडि वढ्ने जनाए । जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले आत्महत्या न्युनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको जनाए ।
कार्यक्रममा भक्तपुर अस्पतालका मनोचिकित्सक डा दुर्गा थापाले आत्महत्या गर्ने व्यक्तिहरुलाई केलाउँंदा मानसिक रोगीहरुको प्रतिशत वढी रहेको जनाइन् । कुल आत्महत्या गर्नेहरुमध्ये ६५ प्रतिशत मानसिक रोगीहरु रहेको तथ्यांक उनले प्रस्तुत गरिन् ।
नेपालको तथ्यांक
नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल प्रहरीले राखेको तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्ष २०८०÷८१ को एक आर्थिक वर्षमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका थिए । यो ग्राफ क्रमिक रुपमा उकालो चढिरहेको छ । यद्यपि सन् २०३० सम्म आत्महत्यालाई न्युनीकरण गर्ने लक्ष्य नेपालको छ ।
जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका खोप अधिकृत दीपक अच्छामीले आत्महत्यालाई सन् २०३० सम्म न्युनीकरण गर्ने लक्ष्य लिए पनि वर्षेनी आत्महत्या गर्नेहरुको संख्या निरन्तर वढिरहेको तथ्यांक पेश गरे । विगत एक दशकको तथ्याङ्क हेर्दा झण्डै दोव्वरले आत्महत्या गर्नेहरुको संख्या वढेको छ तर सरकारको योजना सन् २०३० सम्म आत्महत्यालाई न्युनकरण गर्ने लक्ष्य राखेको छ, उनले भने । आ.व. २०७१÷७२ मा वार्षिक चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०८०।०८१ मा त्यो संख्या वढेर सात हजार दुई सय २३ जनाले आत्महत्या गरेको तथ्यांक रहेको उनले जनाए ।
नेपाल प्रहरीका अनुसार आ.व. २०८०÷८१ को तथ्याङ्क अनुसार पुरुष, महिला, बालक र बालिकाले गर्ने आत्महत्याको सङ्ख्या क्रमश ः तीन हजार सात सय २७, दुई हजार पाँच सय ७३, तीन सय ३१ र पाँंच सय ९२ रहेको देखिन्छ ।
विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको तथ्याङ्क छ । कुल ३२ हजार आठ सय ७८ जनामा २६ हजार ६ सय ५० जनाले झुण्डिएर, पाँंच हजार ६ सय ८७ जनाले विष खाएर र बाँकी अन्य रहेको तथ्यांक छ । आ.व. २०७५÷०७६ देखि आ.व. २०७९÷८० सम्मको आत्महत्याको लैङ्गिक अवस्था हेर्दा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ ।
‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नारा यो वर्षको विश्व आत्महत्या रोकथाम दिवसको रहेको छ । सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिन्छ । सन् १६४२ मा सर थोमस ब्राउनीले आफ्नो ‘द रिलिजन अफ डाक्टर (रिलिजियो मेडीसी)’ नामक कृतिमा प्रथम पटक सुसाइड भन्ने शब्दको प्रयोग गरेको देखिन्छ ।
विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन् । १५ देखि २९ वर्षका उमेर समूहमा आत्महत्या तेस्रो प्रमुख मृत्युको कारण हो । विश्व स्वास्थ्य ङस्गठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गर्दछन् ।
आत्महत्या सम्बन्धी १० तथ्यबारे जानौँ
१) विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्सेनि करिब आठ लाखभन्दा बढी व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् ।
२) विश्वभरमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जना मानिसले आत्महत्याका कारण जीवन गुमाइरहेका छन् ।
३) विश्वभर हत्या र युद्धभन्दा बढी आत्महत्याका कारण मानिसहरुको मृत्यु हुने गरेको छ ।
४) विश्वभर मृत्यु हुने प्रमुख कारणमध्ये आत्महत्या पन्ध्रौ प्रमुख कारणको रुपमा रहेको छ ।
५) विश्वभर ७० वर्षभन्दा बढी उमेरका मानिसहरूमा आत्महत्याको दर उच्च रहेको छ ।
६) १५ देखि २५ वर्ष उमेर समुहमा विश्वभर आत्महत्या दोश्रो सबैभन्दा प्रमुख मृत्युको कारण हो ।
७) जीवन गुमाउनेको संख्या ७० प्रतिशत भन्दा बढि आत्महत्या गरिव देशहरूमा हुने गरेको छ ।
८) आत्महत्याको प्रयास पुरुषहरुको तुलनामा महिलाहरुमा २÷३ गुणा बढी देखिन्छ । तर आत्महत्याको कारण ज्यान गुमाउनेको सङ्ख्या भने महिलाको तुलनामा पुरुषको तिन गुणाले बढि छ ।
९) नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्दछ ।
१०) नेपालमा प्रत्येक महिना करिब एक दर्जनभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन जुन विश्व मै सातांै उच्च आत्महत्याको दर हो । यो दर दक्षिण एसियाली देशहरूमा श्रीलङ्का पछिको सर्वाधिक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।