Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । अहिलेकै अनुपातमा आदिवासी जनजातिको प्रतिनिधित्व कम हुँंदै गएमा भोलिका दिनमा उच्च तहमा उनीहरुको प्रतिनिधित्व शुन्य प्रतिशतमा झर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । आदिवासी जनजाति आयोगको २०८०।०८१ को राष्टपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार राष्ट्रिय सभामा हाल आदिवासी जनजातिको प्रतिनिधित्व १० प्रतिशत मात्रै छ । कानूनी व्यवस्था नगरे शून्यमा झर्न सक्ने कुरा आयोगले औल्याएको छ ।
आयोगका अनुसार प्रतिनिधि तथा प्रदेश सभा र स्थानीय सभामा आदिवासी जनजातिको प्रतिनिधित्व (३० प्रतिशत) जनसङ्ख्याको (३५ प्रतिशत) आधारमा समानुपातिक हुन सकेको छैन । निजामति सेवामा आदिवासी जनजाति प्रतिनिधित्व १४ प्रतिशत मात्रै छ । उच्च तथा विशिष्ट श्रेणीमा अत्यन्त कम छ ।
आयोगले वार्षिक प्रतिवेदन राष्टपातिलाई बुझाइसकेर बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले यस्तै अवस्था रहने हो भने आदिवासी जनजातिको प्रतिनिधित्व शुन्यमा नझर्ला भन्न नसकिने बताए । आदिवासी जनजाति आयोगले राज्यको नीति निर्माण र कार्यान्वयन गर्ने निकायमा अहिलेसम्म सहभागी हुन नसकेका अल्पसंख्यक र लोपोन्मुख आदिवासी जनजातिहरुको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि विशेष व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गरेको उनले जनाए ।
आयोगका अध्यक्ष थापामगरले आव २०८०÷८१ को पाचौं वार्षिक प्रतिबेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको जानकारी गराए । यो वर्ष आयोगले ६ वटा मुख्य सिफारिसहरु गरेको उनले जनाए, जसमा गरिबीको रेखामुनी रहेका आदिवासी जनजाती समुदायको पहिचान गरी तिनै तहका सरकारले विशेष कार्यक्रम तयार गरी गरिबी निवारण गर्न; लोपोन्मुख तथा सिमान्तकृत आदिवासी जनजाती समुदायलाई शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्न; र आदिवासी जनजातिको संस्कृतिक सम्पदाको संरक्षण, अभ्यास र निरन्तरताको लागि उपयुक्त संरचना तयार गरी कार्यान्वयन गर्न सिफारिस गरेको उनले बताए।
यसैगरी हरेक स्थानीय तहले आफ्नो विकास बजेटबाट आदिवासी जनजातिको जनसंख्याको एक तिहाई बजेट आदिवासी जनजाति लक्षित कार्यक्रमको लागि विनियोजन गर्न र संबिधान, कानून तथा अन्तराष्ट्रिय अनुवन्ध, घोषणा, सम्झौता लगाएतका अन्तराष्ट्रिय कानून प्रदत्त आदिवासी जनजाती अधिकार कार्यन्वयनको लागि आदिवासी जनजाती समुदाय र प्रदेश तथा पालिकाका कर्मचारी र जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्ययोजना तयार गरी लागू गर्न पनि सिफारिस गरेको छ । “आदिवासी जनजातिका ज्ञान र सीपलाई राज्यले उपयोग गर्न नसकेर देश उत्पादनमा परनिर्भर छ,“ अध्यक्ष थापामगरले भने ।
मातृभाषाको संवैधानिक अधिकार कार्यान्वयन भएको छैन । बागमती प्रदेश बाहेक अन्य प्रदेशमा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने कानून बन्न सकेको छैन, उनले थपे । आयोगका अध्यक्ष थापामगरले सरकारले आयोगको सिफरिसहरुलाई वेवास्ता गर्ने गरेको गुनासो गरे । “हालसम्म रास्ट्रपति मार्फत गरेको ७७ सिफारिस मध्ये १० प्रतिशत पनि कार्यान्वयन भएको छैन, संवैधानिक निकायको कार्यान्वयन नभए लोकतन्त्रको अवस्था के हुन्छ ? प्रश्न मननीय छ,“ उनले भने । आयोगको काम, कर्तव्य र अधिकार तथा कार्यक्रमबारे वार्षिक प्रतिवेदनमा छलफल, सल्लाह तथा निर्देशन अपेक्षित रुपमा सम्मानीत संसदबाट नआएको अनुभुति आयोगले गरेको थापामगरले बताए ।
संविधानले परिकल्पना र व्यवस्था गरेको समानुपातिक समावेशीताको कार्यान्वयन नहुने हो भने देशमा सामुदायिक सामञ्जस्यता खल्बलिने र नेपाली जनताले गरेको बलिदान र संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा हुन्छ। यी विषयमा सरकारको गम्भिर ध्यानाकर्षण होस भन्ने आदिवासी जनजाति आयोग चाहान्छ ।
तस्वीर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।