प्रणय दिवसको अवसर पारेर फाल्गुन २ गते ग्रीनलिफ फूड, पुतलीसडकमा ‘प्रेमको आदिम गीत’ (The Primordial Song of Love ) नामको कविता कृति विमोचन र प्रेम कविता वाचन सम्पन्न भएको छ । ‘प्रेमको आदिम गीत’ कविता सङ्ग्रहमा ११ कविका ३३ कविताहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेका छन् । सङ्ग्रहलाई ११ जना कविहरू विश्व सिग्देल, भीष्म उप्रेती, रमी प्रिया, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, विधान आचार्य, सुमन थापा संगम, संजय सुमन, टङ्क उप्रेती, दिलकुमारी डङ्गोल र ईश्वर थोकरले लोकार्पण गरेका थिए, जसका कविता यस सङ्ग्रहमा रहेका छन् । यी कविताहरूलाई चन्द्रबहादुर लामाले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् । अकाल कुसुम, काभ्रेले प्रकाशित गरेको यो सङ्ग्रहमा मानव हृदयबाट निसृत कोमल भावनाहरू प्रेमका आदिम मन्त्र भएर बगेका छन् । वर्तमान कविता समूहले आयोजना गरेको यस पुस्तक विमोचनको दोस्रो सत्रमा प्रेम कविता वाचन गरिएको थियो । सम्पूर्ण कवि तथा साहित्य अनुरागीलाई स्वागत गर्दै धीरकुमार श्रेष्ठले आफ्नो कविता पस्केका थिए । आफ्ना कविता वाचन गर्ने बेलामा विश्वलाई नेपाली कविता पढाउन नेपाली भाषाका कवितालाई अङ्ग्रेजीमा अनुवाद गरिएको बताउँदै कवितालाई अनुवाद गर्दाका रोचक प्रसङ्ग चन्द्रबहादुर लामाले राखेका थिए । जसमा रामगोपाल आशुतोष,किशोर पहाडी,स्नेह सायमी, रजनीमिला,लक्ष्मी माली, विणा नेम्कुल, नानीबाबा अधिकारी, श्रीओम श्रेष्ठ रोदन,वसन्त नकर्मी, पुरुषोत्तम घिमिरे, दिव्य गिरि, एलिसा ढुंगाना लगायत सङ्ग्रहका ११ जना कविहरूले पनि आफ्ना प्रेम कविता वाचन गरेका थिए । वर्तमान कविता समूहका विश्व सिग्देलले यस समूहका यसभन्दा अघि हरित कविता, छोटा कविता र भुइँ मान्छेका विशेष कविता कार्यक्रमको सम्झना गर्दै ती कविताहरूका अँग्रेजी अनुवादले नेपाली कवितालाई फैल्याउना मद्दत गर्ने विचार व्यक्त गरे । साथै उनले वर्तमान कविता समूहको आगामी कार्यक्रमको जानकारी र उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै आफ्नो प्रेम कविता सुनाएका थिए । यो कार्यक्रमलाई राधिका अधिकारीले एकदमै सुन्दर ढङ्गले उद्घोषण गरी सन्चालन गरेकी थिइन् ।