भक्तपुर । भक्तपुरबासीले विहीबार फरक शैलिमा होली मनाएका छन् । यहाँका स्थानीयले भीमसेनको लिंगको प्रतीकस्वरुप करिब तीन हात लामो र ३० इन्च मोटो काठको लिंगलाई साँंझ नगर परिक्रमा गराएर फागु पर्व मनाएका हुन् ।
भक्तपुर नगरपालिका– ९ तचपाल दत्तात्रेयस्थित भीमसेन मन्दिरमा झुन्ड्याइराखिएको काठको लिंगलाई बजार घुमाएर होली पर्व मनाएका हुन् । लिंगलाई एक व्यक्तिले बोकी दतात्रयबाट नगरको पूर्व सूर्यमढी, च्याम्हासिंह हुँदै ब्रह्मायणी पीठ नजिकको ब्रह्मकुण्डमा पखाल्न लैजाने परम्परा छ । दिनभर रमाइलो गरिसकेपछि लिंगलाई एक व्यक्तिले बोकी नगर परिक्रमा गराउने प्रचलन छ । यसरी लिंग बोक्ने व्यक्तिको छोरा जन्मने जनविश्वास रहेकाले बोक्न प्रतिस्पर्धा हुने गर्छ ।
यो काठको लिंग फागु शुक्ल अष्टमीको साता अगाडि मन्दिरभित्र झुन्ड्याइएको थियो । प्रत्येक वर्ष होली पर्वको पहिलो दिन मन्दिरमा झुण्ड्याइने यो लिंगलाई अन्तिम दिन पूर्णिमाको दिन झिकेर धुन लाने गरिन्छ । त्यसपछि लिंगलाई अर्काे वर्षका लागि सुरक्षित राखिराने गरिन्छ ।
इतिहासविद्हरु भक्तपुरमा मनाइने फागु भीमसेनसँग सम्बन्धित रहेको र अन्य ठाउँभन्दा फरक र मौलिक भएको बताउँछन् । फागुन शुक्ल अष्टमीदेखि भीमसेनको मन्दिरबाट सुरु हुने यो पर्व भीमसेनसँग सम्बन्धित छ,’ इतिहासविद् डा बीरेन्द्रप्रसाद कायस्थले भने, महाभारतका पात्र भीमसेनको लिंगलाई प्रदर्शन गर्ने पर्वको रुपमा यहाँ होली मनाइने गरेको छ ।
दानवराज हिरण्यकश्यपले आगोले नजलाउने वर पाएकी बहिनी होलिकासँगै आफ्ना विष्णुभक्त छोरा प्रल्हादलाई आगोमा राखी जलाउने प्रयास गरेको तर प्रल्हाद नभई होलिका जलेको पौराणिक कथाअनुसार होली पर्व मनाउँंदै आएको जनविश्वास छ । तर भक्तपुरमा मनाइने होली भने अलि पृथक छ,’ उनले भने ।
स्थानीय रामबहादुर सुवालले होली भन्नेबित्तिकै रङको पर्व सम्झने नेपालीलाई भक्तपुरको होलीले फरक सन्देश दिने बताउँछन् । होलीमा हामी रङ दल्नेदेखि लोलाले हान्नेमा सीमित छैनौं,’ उनले भने, हाम्रो होली मनाउने परम्परा अन्य ठाउँभन्दा फरक छ ।’
होलीमा यहाँ रङ अनि लोलाको प्रचलन नभएको भने होइन । सबैतिर रङ अनि लोला मात्रै होइन, पानी छ्यापेर रमाइलो साथ होली मनाउने प्रचलन पनि छँदै छ ।
क्याप्सन
होली पर्वको अवसरमा भक्तपुर नगरपालिका वडा नं ९ दतात्रय तचपालस्थित मन्दिरमा झुण्डाइराखेको महाभारतका भीमसेनको लिंग मानिने तीन फिट लम्वाई र ३० इन्च मोटाइको लिंग । होलीको पहिलो दिन मन्दिरमा झुण्डाइएको यो लिंगलाई अन्तिम पूर्णिमा दिन नगर परिक्रमा गराई ब्रम्हायणी खोलामा धुन लगेर भक्तपुरमा होली पर्व मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1