रोजी बस्नेत
कयौँ महिनादेखि गरेको काममा विश्राम दिने समय आएको छ। बिहानबिहानै तुषारो लाग्नुअगाडि नै ढक्ढक् गर्दै प्राय भक्तपुरको सबै ठाउँमा यो आवाज सुन्न सकिन्छ । जाडो महिना सुरु भएदेखि नै उनीहरु बालबच्चा नभनी यस काम गर्छन् । उनीहरूको काम बिहानको एक बजेदेखि रातिको सात-आठ बजेसम्म निरन्तर रुपमा चल्छ। पुस महिनादेखि वैशाख सम्म उनीहरू मेहेनत गरी काम गर्छन् । अविकसित क्षेत्रबाट बसाई सरी आफ्नो छोराछोरी र आफ्नो पेट पाल्न पुरै सन्तान नै ईट्टा पारेर बस्छन् । न चिसो, न थकान भनी निरन्तर रुपमा ईट्टा पारी ६ महिनापछि आफ्नै कर्मथलोमा गई जिविको चलाउँछन्।
भक्तपुरलाई नेपालकै धेरै इँटाभट्टा पाउने जिल्लाको रूपमा हेरिन्छ । जहाँ हरेक ठाउँठाउँमा बाक्लो रुपमा भट्टा देख्न सकिन्छ । रात्तै रङ्मा छ्यापछ्याप्ती देखिने ईट्टाहरुले हरेक व्यक्तिको मन लोभ्याउँछ । तर ती ईट्टा बनाउने कामदार को हुन्, कस्तो हुन्छन्, प्राय कसैले सोच्दैनन्। शहरमा घर भएको मानिसले पक्कै पनि त्यस काम गर्दैन, ऊ मात्र काम पाइएन भनी भौतारिन्छ । तर गाउँमा एक छाक टार्न मुस्किल हुने व्यक्तिलाई यो काम पनि निकै महत्वपूर्ण हुन पुग्छ।
हरेक साल ईट्टाभट्टाहरुले धेरै मानिसलाई ईट्टा बनाउनको लागि खताँउछ। जसको आर्थिक अवस्था कमजोर हुन्छ, जो शहरदेखि टाढा जटिल जीवन बाँचिरहेका हुन्छन्, उनीहरुलाई प्राय भट्टाको मालिकले बोलाउने गर्छ। खेती किसानीले मात्र छाक टार्न गार्हो हुने कारणले उनीहरु सजिलै आकर्षित हुन्छन।“ वर्षैसाल हिँउदो महिनामा म र छोरा ईट्टा पार्नकै लागि काभ्रेदेखि आउने गरेका छौँ, नातिनातिनीलाई बोर्डिङ स्कुलमा हालेका छौँ जसको लागि तरकारी बेचेर, किसानी गरेर पनि नपुगेसी हामीले यो बाटो रोज्यौँ, हामी बाबुछोराले दिनको पाँचहजार ईट्टा पारेर दिउँसोभरमै सुकाउन पनि राम्रैसँग भ्याउँछौ” कामदार रहर लामा भन्नुहुन्छ।
मङ्सिर महिनादेखि वैशाखसम्म निरन्तर सो काम गरेर उहाँहरुले प्रति व्यक्ति चार लाख पचास हजार ईट्टा पारी दुई लाख जति आम्दानी हुने कुरा, राजेन्द्र लामाले बताउनुभयो । त्यस पैसाले रासनपानी कटाएर बाँकी पैसा छोराछोरीको पढाइको लागि प्रयोग गर्नै उहाँहरू बताउनुहुन्छ।
अब उनीहरुको जीवनमा परिवर्तन आउने समय आएको छ। किनभने ६ महिना काम गरेपछि ६ महिना उहाँहरुले यस कामबाट मुक्ति पाउनुहुन्छ। ६ महिनाको थकान, चिसो, कठिनाइको फलले उहाँहरुलाई मात्र नभई अरुलाई पनि यस काम गर्न उत्प्रेरित गर्छ।जति चिसो भएपनि आफ्नो परिवारको लागि बिहान एक बजेदेखि चिसोमा खटिएर काम गरेको थकानको पारिश्रमिकले उनीहरुको जीवनको रंग बदल्न मद्दत गर्छ। “श्रीमती, आमा, बालबच्चालाई गाउँमै छोडी ६ महिना दुःख गरे, घरमा एकपटक फोन गर्ने फुर्सद हुने थिएन, अब त काम पनि सकियो । थकानमात्र मार्ने होइन परिवारसँग रमाइलो गर्ने बेला आएको छ, खुसी लाग्छ । ६ महिनादेखि आफ्नो बच्चालाई देख्न पाएको थिइन्, तर अब त्यो दूरी सकिएको छ गाउँमै गई आमा र श्रीमतीलाई काम सघाँउछु र बालबच्चालाई पनि समय दिनेछु”, दिपेन्द्र लामाले बताउनुभयो । यहाँ रहर लामा, राजेन्द्र लामा र दिपेन्द्र लामा मात्र खुसी छैनन्, त्यस्तै हरेक भट्टामा काम गर्ने उहाँहरु जस्तै अरु मानिस पनि यस विश्रामलाई सम्झी खुसी हुँदैछन् । उहाँहरुले वैशाखदेखि नै आफ्नो परिवारसँग सँगै बसी खुसी साँट्न पाउने भएका छन्।