भक्तपुर । भक्तपुरका पत्रकार आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा राजधानीको तीनकुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । त्यसैगरी कान्तिपुर टेलिभिजन, अन्नपूर्ण दैनिकको कार्यालयमासमेत आक्रमण गरेका थिए । आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुरको आह्वानमा पत्रकारहरु कालोपट्टी बाँधेर काममा खटिएका हुन् । यसैगरी उनीहरु सडकमा उभिएका थिए ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष शुन्दर सिल्पकारले जिल्लाका विभिन्न सञ्चारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारलाई कालोपट्टी बाँधिदिएका थिए । समाचार संकलनकै क्रममा पत्रकारको हत्या, कुटपिट तथा आमसञ्चार माध्यममा आक्रमण गरिएको बिषयलाई लिएर केन्द्रीय कार्यक्रम अनुसार कालोपट्टी बाँधेरविरोध जनाइएको अध्यक्ष सिल्पकारले बताए । सोही क्रममा महासंघले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत कार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको छ ।