Prithvi Post

७ बैशाख २०८२, आईतवार

गणतन्त्रको विकल्प फेरि पनि उन्नत गणतन्त्र नै भएको दाबी गर्दै भक्तपुरका प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर गणतान्त्रिक व्यवस्थाप्रति एक्यबद्धता जाहेर गरेका छन्।
सोमबार नेपाल प्रेस सोसाइटीको सभा हलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले ४ बुँदे सामूहिक प्रेस विज्ञप्ति जारी गरेका हुन्।
सोसाइटीको सभाहलमा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भने, “पूर्वराजा ज्ञानेन्द्र व्यवसायी हुन्। उनले रोजगारी सिर्जना गरे भइहाल्यो नि! उनले कसरी सम्पत्ति आर्जन गरे भन्ने कुरा छानबिन गर्नु पर्दैन?”  उनले प्रश्न गरे।
गणतन्त्रमा सबै कुरा सम्भव छ भन्दै उनले थपे, “गणतन्त्रको विरोध गर्नेहरू पनि यहीँ छन्, यो नै यसको सुन्दरता हो।”
कार्यक्रममा एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले हिजो पञ्चायत कालमा सुख भोग गरेका व्यक्तिहरूले अहिले राजा फर्काउने अभियानमा आन्दोलन होइन, अराजक गतिविधि गरिरहेका बताए। उनले भने, “राजनीतिक दलहरूले पनि आफूलाई सुधारेर अघि बढ्नुपर्ने भएको छ।”
त्यसैगरी, कार्यक्रममा नेकपा (माओवादी केन्द्र) भक्तपुरका अध्यक्ष सुनिल गोठे (बासु) ले लोकतान्त्रिक गणतन्त्रको विकल्प हुन नसक्ने बताए। उनले भने, “मरिसकेको राजतन्त्र फर्कदैन, बिउँतिँदैन, सडकमा नाराजुलुस गरेर आउने पनि होइन। गणतन्त्र ल्याउन हामीले ठूलो योगदान गरेका छौँ।”
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष श्याम बस्नेतले राजाको नाममा केही समूहहरूले सडकमा अराजकता मच्चाइरहेको बताए। उनले भने, “मिडिया र पार्टी कार्यालय तोडफोड गरिरहेका छन्। यस्ता अराजक र हिंसात्मक गतिविधिले राजतन्त्र फर्किँदैन।”
सोही कार्यक्रममा नेपाल समाजवादी पार्टी भक्तपुरका नेता श्रीराम खाइजुले राजावादीहरूले नेपालको झण्डा दुरुपयोग गरिरहेको आरोप लगाए। विप्लव नेतृत्वको नेकपाका नेता आर्यन सी’ले राजतन्त्रकै कारण मुलुक पछाडि परेको आरोप लगाउँदै राजतन्त्र फेरि फर्किन सम्भव नरहेको बताए।
कार्यक्रमको संयोजन नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।