Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

५ पुस, काठमाडौं
खेलकुद मन्त्रालयमा आफ्नो करिब १५ महिने कार्यकालको लगभग अन्तिम समयमा रहेका मन्त्री महेश्वरजंग गहतराजले जाँदा-जाँदै तीनवटा खेल संघ विघटन गरेका छन् ।

राखेपका अध्यक्षसमेत रहेका गहतराजको निर्देशनमा राखेपले मंगलबार तेक्वान्दो, उसु र शारीरिक सुगठन संघलाई पुनर्गठन गरेको हो । राखेपले पुनर्गठित समितिका सबै सदस्यलाई पत्र पठाएको छ ।
पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिइएको छ ।

उसु संघमा राखेप सदस्य जनक बर्तौला अध्यक्ष र नवराज ढुंगानालाई महासचिवको जिम्मेवारी दिइएको छ ।
नेपाल शारीरिक सुगठन संघमा भने विवादित दुवै संघका प्रतिनिधिको सहमतिमा कार्यसमिति पुनर्गठन गरिएको हो । अध्यक्षमा राजेशबाबु श्रेष्ठ र महासचिव अजय महर्जनसहितको तदर्थ समिति बनाइएको हो ।

गत वैशाख ९ गते बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औं बोर्ड बैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा संघसंस्था विवाद समिति गठन गरेको थियो ।

विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादित मध्येको एउटा कार्यसमितिका कुनै पनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार आफ्नो निर्णय राखेप अध्यक्षसामु पेश गरेको समितिका संयोजक कोइरालाले जानकारी दिए ।

उल्लेखनीय कुरा के छ भने तेक्वान्दोका विवादित दुई संघमध्ये एउटा संघका अध्यक्ष कोइराला स्वयम् थिए । राखेपका तत्कालीन सदस्यसचिव युवराज लामाले २०६९ सालमा राष्ट्रिय तेक्वान्दो संघ गठन गरेसँगै नेपालमा एकै प्रकृतिका दुई खेल संघ अस्तित्वमा आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।