Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । शिक्षकहरुले गरिरहेको आन्दोलनको क्रममा आइतबार २६ औँ दिन शिक्षक कर्मचारीहरूमाथि सरकारबाट भएको प्रहरी दमनको माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले आपत्ति प्रकट गरेको छ । हिस्टुनले आइतबार विज्ञप्ति प्रकाशित गरी तत्काल नयाँ शिक्षा ऐन जारी गर्न माग गरेको हो ।
विज्ञप्ति
नेपाल शिक्षक महासङ्घद्वारा घोषित शिक्षक कर्मचारीहरूको पेशागत अधिकार र गुणस्तरीय विद्यालय शिक्षाका लागि नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रित शान्तिपूर्ण सडक आन्दोलनको आज २६ औँ दिन शिक्षक कर्मचारीहरूमाथि सरकारबाट भएको प्रहरी दमनको माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) आपत्ति प्रकट गर्दै घोर भर्सना र निन्दा गर्दछ। यस समयमा हिस्टुन घाइते शिक्षक, कर्मचारी एवं पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ।


देशमा ठूलो राजनीतिक परिवर्तन पश्चात् नयाँ संविधान बनेको १० वर्ष बित्नै लाग्दा नयाँ शिक्षा ऐन बन्न नसक्नुमा को दोषी हो? जनतालाई संवैधानिक प्रावधान अनुसारको शिक्षामा अधिकारको ग्यारेन्टी गर भन्नु के पाप हो? शिक्षक नै दिन नसक्ने भए संविधानमा हचुवाका भरमा निःशुल्क शिक्षा किन लेखेको? हजारौँ विद्यार्थी र ५०औँ शिक्षक हरू कार्यरत विद्यालयमा एकजना पनि कर्मचारी दिनुपर्दैन? आज शिक्षकहरूको पेशागत असुरक्षा र अनिश्चित भविष्य भइरहँदा शासकहरूको निद्रा कहिले खुल्छ? देशको आर्थिक अवस्था जर्जर बनाउनमा शिक्षकहरु दोषी हुन्? अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रतिबद्धता गरे अनुसार शिक्षामा बजेट विनियोजन गर्नु पर्छ कि पर्दैन? पटकपटक शिक्षकहरूसँग राज्यले गरेका सम्झौता किन कार्यान्वयन भएनन्? समयमा नै शासकहरूको चेत खुलेन भने सत्ताको उन्मादको अन्त छिट्टै हुने मात्र होइन आजका घाइते शिक्षकहरूको रगतले जीवनभर पोलिरहने निश्चित छ।


अब सबै ब्युझनुपर्छ र आफ्ना सन्ततिको सुरक्षित भविष्यका लागि समेत यो देशको शैक्षिक प्रणाली सुधार्न शिक्षकहरुले एउटा त्याग गर्नुपर्ने बेला आएको छ, सँगसँगै नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलन सही उद्देश्य र दिशामा बढिरहेको अवस्थामा हाम्रो ट्रेड युनियनमा आबद्ध सबै देशभरका शिक्षक साथीहरुलाई काठमाडौँ केन्द्रित बन्दै अब झनै सशक्त बन्न र भोलि २०८२ वैशाख १५ बाट एउटा ठोस निष्कर्ष नआउँदासम्म यो हाम्रो युगको अन्तिम र निर्णायक आन्दोलनमा होमिन हिस्टुन हार्दिक अपिल गर्दै सरकारलाई शिक्षक कर्मचारीमाथिको दमन बन्द गरी नयाँ शिक्षा ऐन तत्काल जारी गर्न आह्वान समेत गर्दछ।
टीकाप्रसाद न्यौपाने
अध्यक्ष
सम्पर्क नम्बरः ९८४१३४४१२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।