नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पनि साहित्यकार भएको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीति बाहिरका जीवन’ शीर्षकमा पत्रकार अखण्ड भण्डारीसँग कुरा गर्दै उनले आफूले जेलमा हुँदा महाकाव्य, खण्डकाव्य, निबन्धलगायत कृति लेखे पनि जेलबाटै लुटिएको उनले दाबी गरे।
भूमिगत जीवनमा समेत लेख्ने गरेको भन्दै उनले जहाँ लेख्यो, त्यहीँ छाड्ने गरेको बताए।
‘भूपी शेरचनले यसो लेख्छन्। अनि हेर्छन्। केर्छन्। फेरि लेख्छन्, हेर्छन्। केर्छन्। कठैबरा भूपी शेरचन। यस्तो थिइनँ म,’ उनले भने, ‘म लेख्थेँ, हेर्थें अनि छाड्थेँ।’
जेलमा रहँदा चुरोटको खोलमा कविता लेख्न थालेपछि जेलरले कलम र कापी उपलब्ध गराइदिएको उनले बताए। यसरी महाकाव्य लेखेर सकिनै लाग्दा जेलबाट लुटिएको उनको गुनासो छ।
यस्तै उनले आफूले जेल जीवन बिताएको बेला खाना बनाउने र भाँडा माझ्नेसमेत काम गरेको बताए । कामको बाँडफाँट गर्दाका प्रसंग निकाल्दै उनले भने, ‘खाना बनाउने काममा समय बढी लाग्छ, काम बाँड्दा साथीहरूलाई खाना बनाउन लगाउँथेँ, म भाडा माझ्छु भनेर भाँडा माझ्ने काम रोज्थेँ।’
प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा भान्सामा तरकारी केलाएको प्रसंगमा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।
फुर्सद मिल्दा जे मिल्छ त्यहीँ काम आफूले गर्ने गरेको ओलीले बताए। युवाकालमा गोठालासँग रमाउनेदेखि पौडी खेल्न रूचि राखेको उनले सम्झिए।
‘खोला देख्नै हुन्थेन, पौडी खेल्थेँ,’ उनले भने, ‘घर गृहस्थीमा चाहिने कामहरू गरिहाल्थेँ।’
जे देख्यो त्यहीँ सिक्नुपर्ने आफ्नो बानी रहेको भन्दै उनले पाइलट हुन नपाएकाले हवाईजहाज चलाउन नजानेको बताए। ‘म पाइलट हुन पाइनँ, हवाईजहाज चलाउन जानिनँ,’ उनले भने, ‘ड्राइभिङ २०२६ सालमै सिकेको हुँ।’
झापामा आफ्नो घर अगाडि एक आमाको घर भएको भन्दै उनले त्यहाँ गएर कैंची चलाएकोसमेत सम्झिए। ‘कैंची छोयो भने बिग्रिन्छ भन्थे, हाते मिसिन त छुन पाउने कुरा थिएन,’ ओलीले भने, ‘फलामको नटबोल्ट लागेको कैंची बिग्रिने ठाउँ नै छैन, तिम्रो चाल ठिक छैन भनेर उहाँले छुन दिनुहुन्थेन।’