न्यून बोलकबोलले आयोजनाको गुणस्तर सुनिश्चितता हुने कुरामा शंका उत्पन्न गराउँछ । आयोजना समयमै सम्पन्न हुने कुरामा सुनिश्चित हुन सकिदैन । आयोजना रुग्ण हुन सक्दछन । निर्माण ब्यबसायी टाट पल्टिन र बैंक करप्ट हुन सक्दछ्न । समाजले निर्माण उद्योगलाई हेर्ने दृष्टिकोण थप नकारात्मक हुनजान्छ । न्युन बोलकबोल भएको कारणले निर्माण आयोजनामा नगद प्रवाह हुन नसकी निर्माण कार्य प्रभावित पनि हुने गरेको छ । आयोजना प्रभावित भएपछि आमउपभोक्ता त्यो संरचना उपभोग गर्ने अधिकारबाट बन्चित मात्र हुने गरेका छैनन आयोजना रुग्ण भएर करदाताहरुले तिरेको कर रकमको दुरुपयोग पनि हुन पुगेको छ । यसले देशको समग्र आर्थिक बिकासमा नकारात्मक असर परेको छ । न्यून बोलकबोल भएपछि निर्माण ब्यबसायिहरु निर्माण लागत घटाउने उपायको खोजिमा गुणस्तरमा सम्झौता गर्न प्रोत्साहित हुने गरेका छन । निर्माण ब्यबसायीहरु तोकिएको स्पेसिफिकेसन भन्दा फरक र कमजोर निर्माण सामाग्री एवं यंत्र उपकरण र प्रबिधिहरुको उपयोग गर्ने तर्फ ध्यान केन्द्रित गरिरहेका हुन्छ्न । जसको कारणले आयोजनाको गुणस्तरमा ह्रास आउँछ । गुणस्तरमा सम्झौता गर्ने भन्नाले आयोजनामा प्रयोग हुने निर्माण सामग्री, औजार यन्त्र उपकरणमा मितब्ययिता गर्न खोज्ने र आयोजनाको स्थायित्व माथि नै प्रश्न निम्त्याउने कार्य भनेर बुझ्नु पर्दछ । यसो गर्दा निर्माण कार्य पटक पटक दोहोराएर गर्नुपर्ने हुने भएपछि आयोजना सम्पन्न हुन ढिलाइ हुने, ठुला ठुला त्रुटिहरु हुने र जोखिम बढ्ने मात्र नभएर आयोजनाको उपयोगको अनुमानित अबधि अघि नै मर्मत वा पुनः निर्माण समेत गर्नु पर्ने हुन सक्दछन । जसले गर्दा आयोजनाको कुल निर्माण लागत बढ्ने, निर्माण कार्य समयमा सम्पन्न नहुने जस्ता समस्याहरू निम्तन्छन । न्यून बोलकबोल गर्दा आयोजनामा के कस्तो असर, प्रभाव पर्ने र त्यसबाट के परिणाम प्राप्त हुन जान्छ र कसरी निर्माण आयोजना प्रभावित हुन्छ तल बुँदागत रुपमा थप प्रष्ट पार्ने कोसिस गरेको छु ।
१) कम गुणस्तरका निर्माण सामग्रीहरूको प्रयोग हुन्छ: न्यून बोलकबोल भएपछि निर्माण लागत घटाउन दबाबमा रहेका निर्माण ब्यबसायिहरूले सस्तो, कम गुणस्तरका निर्माण सामग्रीहरू प्रयोग गर्न प्रोत्साहित हुन्छ्न जसले आयोजनाको गुणस्तर, त्यसको जीवन र त्यसको कार्यसम्पादनमा समेत नकारात्मक असर पर्दछ् ।
२) सस्तो कामदारको उपयोग हुन्छ: न्यून बोलकबोलले निर्माण ब्यबसायिहरू आयोजनामा आबश्यक पर्ने कामदारहरु तर्फको लागतमा पनि कटौती गर्ने तर्फ पनि सोच्न थाल्दछन । जसका लागि उनीहरुले दक्ष र सिप भएको भन्दा पनि सस्तो कामदारको उपयोग गर्ने गर्दछन । सस्तो कामदार भनेपछि कम अनुभवी र दक्षताको अभाव रहेका कामदारको भरमा गरिने निर्माण कार्यहरुमा त्रुटि हुन जान्छ । यसरी सीप र दक्षताको अभावमा जसोतसो सम्पन्न भएको निर्माण कार्यको गुणस्तर घट्छ।
३) त्रुटि र जोखिम बढ्छ: न्यून बोलकबोलले निर्माण ब्यबसायिहरूलाई हतारमा निर्माण कार्य गर्न प्रोत्साहन गर्दछ, जसले गर्दा त्रुटिहरू, जोखिमहरू, र दोहोराएर काम गर्नुपर्ने सम्मका जोखिम बढ्ने हुन्छ।
४) निर्माण कार्यमा ढिलाइ हुन्छ (समयमै सम्पन्न नहुने): भएका त्रुटिहरूको सुधार गर्न र कमसल रुपले भएका निर्माण कार्य सुधार गरेर पुनः गर्नुपर्ने भएबाट आयोजना सम्पन्न हुनमा ढिलाइ हुने र समयमै आयोजना सम्पन्न हुन सक्दैनन् ।
५) निर्माण लागत बढछ: न्यून बोलकबोल भएका बोलपत्रहरू सुरुमा रकमका हिसाबले आकर्षक देखिए पनि कम गुणस्तरको निर्माण हुने भएकोले मर्मत, सम्भार गर्नु पर्ने खर्च र त्यो आयोजनाको अनुमानित जिवन अगावै भत्किएर बिग्रीएर त्यसको ठाउँमा आर्को निर्माण गर्नुपर्दा लाग्ने लागतका हिसाबले समग्र लागत बढाउन सक्छ।
६) निर्माण ब्यबसायी र नियोक्त्ता बिच बिबाद बढछ: न्यून बोलकबोल गर्ने निर्माण ब्यबसायीहरुले निर्माण लागत घटाउन खोज्दा नियोक्त्ता र निर्माण ब्यबसायी बिच विवाद उत्पन्न हुन्छ । किनकि निर्माण ब्यबसायिको ध्यान निर्माण लागत घटाउन तिर हुन्छ नियोक्त्ताको ध्यान तोकिए अनुसारको निर्माण कार्य गर्ने तिर हुन्छ । एकै आयोजनामा सम्लग्न्न पचहरु बीच सहकार्य गरेर आयोजना पूरा गर्नुपर्नेमा फरक फरक उद्देश्य लिएपछि बाताबरण धमिलो भएर आयोजना बिबादमा फस्छ ।
७) दावीको जोखिम बढ्छ: जब निर्माण ब्यबसायिहरूले न्यून बोलकबोल गर्दछन सो कबोल रकमको सीमा भित्र बसेर निर्माण कार्य सम्पन्न गर्न उसले आफ्नो ध्यान केन्द्रित गर्दा तोकिएको गुणस्तरमा प्रश्न चिन्ह उठने र नियोक्त्ताले गुणस्तर कायम गर्न संघर्ष गर्नुपर्ने हुन्छ जसले गर्दा अनावश्यक बिबाद र दावीहरू बढाउन सक्दछ ।
८) अस्वच्छ प्रतिस्पर्धिहरु बढछन : निर्माण आयोजनाहरुको बोलपत्रहरुमा तिब्र रुपले अस्वच्छ प्रतिस्पर्धा हुन्छ, जसले निर्माण ब्यबसायिहरुलाई आयोजना हातपार्नका लागि कम बोलकबोल गर्न प्रोत्साहन गर्दछ ।
९) अबिश्वसनिय दररेट निर्धारण हुन्छ: केही निर्माण ब्यबसायिहरूमा ब्याबसायिकताको कमिले लागतको सहि अनुमान गर्न नसक्दा र आयोजनाको जटिलताहरूलाई कम आँकलन गरेर न्यून बोलकबोल गर्दा अबिश्वसनिय दररेट निर्धारण हुन पुग्दछ ।
१०) नियोक्त्ता न्यून बोलकबोल स्वीकार गर्न दबाबमा पर्दछन: नियोक्त्ता वा सार्बजनिक निकाय न्यून बोलकबोल गरेको आयोजनाहरुमा गुणस्तर कार्य हुने नहुने र समयमा निर्माण कार्य सक्ने नसक्ने दुबिधाको बिचमा नियामक निकायको डर र त्रासमा निर्णय लिदा कम मूल्यलाई नै प्राथमिकता दिन पर्ने बाध्यतामा पर्दछन । निष्कर्षमा: न्युन बोलकबोल गरिएका निर्माण आयोजनाहरु सुरुमा रकमका हिसाबले कम रकममा आयोजना सम्पन्न हुने जस्तो देखिए पनि यसले आयोजनाको गुणस्तर, सम्पन्न हुने समय, आयोजनाको जिवन र उपयोग पछि हुनसक्ने क्षती समेतलाई मध्यनजर गर्दा धेरै ठुला जोखिम देखिन्छ । मूल्यलाई मात्र मुख्य आधार मानेर भन्दा पनी निर्माण आयोजना ब्यबस्थापनका अन्य महत्त्वपूर्ण आधारहरू गुणस्तर, जीवन लाई समेत मध्यनजर गरेर न्यून बोलकबोललाई निरुत्साहित गर्नु निर्माण ब्यबसायी र नियोक्त्ता दुबैको हितमा छ ।
लेखक श्री राम शरण देउजा सिभिल इन्जिनियरिङ्ग ल्याबरेटोरी यसोशिएन अफ नेपालका अध्यक्ष र नेपाल निर्माण उद्योग परिषदका महासचिव हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1