काठमाडौं २६ साउन । महिनाको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने,अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने गरेको धार्मिक विश्वास छ। वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ ।
आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाएका छन् । यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल,गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एकपटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ ।
यसैगरी, साउन महिनाको अन्तिम सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं– ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर पनि भक्तजनको घुइँचो लागेको छ । श्रावणी मेलाका साथै साउन महिनाको अन्तिम सोमबार भएकाले केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा दर्थनार्थीको घुइचो लागेको हो । दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर भरिभराउ भएको छ । मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि विशेष व्यवस्था गरेको छ ।
डोलेश्वरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अपेक्षा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । डोलेश्वर महादेव मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते नै विशेष कार्यक्रम आयोजना गरी श्रावणी मेलाको समापन गरिन्छ ।