काठमाडौं । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको त्यहाको स्थानीय प्रशासनद्वारा जानकारी गराइएको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहने बताइएको छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै रहेको जनाइएको छ । यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभएको छ । पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताउनु भएको छ।
उहाँका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ । आइतबार बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो । उहाँले पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको बताउनु भएको छ । बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गर्नुभएको छ ।