साउन,३२-भक्तपुर
नेपालमा पहिलो पटक ब्याडमिन्टन एसिया आयोजनाका रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ । ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवर्द्धन र प्रतिस्पर्धा गर्ने उद्देश्यअनुरूप एसिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गरेको हो ।
प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालयमा रहेको एपीएफ क्लबमा हुनेछ । यस च्याम्पियनससिपमा यू–१५ तर्फ गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गर्ल्स डबल्स र मिक्स गरी पाँच विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले बताएको छ ।
नेपाल ब्याडमिन्टन संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ १ गतेदेखि पाँच गतेसम्म यू–१५ र यू–१७ साउथ एसिया रिजनल च्याम्यिनसिपमा गर्ने जनाएको छ । उक्त च्याम्पियनसिपमा यू–१५ र यू–१७ उमेरसमूहमा दक्षिण एसियाका नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीहरु सहभागी हुनेछन् ।
यू–१७ मा पनि गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिस्पर्धा हुनेछ । यी दुवै उमेर समूहमा टिम प्रतिस्पर्धा पनि हुने ब्याडमिन्टन संघले जनाएको छ । आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने एसिया ब्याडमिन्टनकी ब्याडमिन्टन एसियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिइन् ।
आयोजक राष्ट्र भएकाले नेपालले भने १६ खेलाडीलाई खेलाउन पाउने भएको छ । ब्याडमिन्टन एसियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले एसियामा रहेका ब्याडमिन्डनको अल्पविकसित राष्ट्रमा यस किसिमका कार्यक्रम सुरु गरिएको बताइन् । व्यक्तिगत स्पर्धामा आयोजक राष्ट्रबाट तीन खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य राष्ट्रका भने दुई खेलाडीको प्रतिस्पर्धा गर्न पाउने एसिया ब्याडमिन्टनले प्रावधान बनाएको छ । नेपालमा यो पहिलो रहेको र आगामी कार्यक्रम कम्बोडियामा हुने उनले उल्लेख गरिन् ।
यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि पनि छनोट गरिने एसिया ब्याडमिन्टनका सिनियर डेभलपमेन्ट म्यानेजर थानाबलान एरिकृष्णनले बताए । यस कार्यक्रमबाट एसियाभरबाट २० जना छनोट हुने र जसमा प्रत्येक देशबाट समान एक गर्ल्स र ब्वाइज समावेश हुने एरिकृष्णनले जानकारी दिए । छनोट भएका खेलाडीले ब्याडमिन्टनको पावरहाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन् ।

