Prithvi Post

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा फर्किएका छन्।

शुक्रबार जर्जियाको एटलान्टास्थित फुल्टोन काउन्टी जेलमा २० मिनेट बिताएका ट्रम्पले त्यसपछि एक्समा आफ्नो जेलमा राख्न खिचिएको तस्बिर (मग सट) पोस्ट गरेका छन्।

सन् २०२१ जनवरी ८ पछि ट्रम्प पहिलो पटक उक्त सामाजिक सञ्जालमा आएका हुन्।

२०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले राष्ट्रपति चुनावको औपचारिक परिणाम घोषणा रोक्नका लागि अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए।

उक्त हिंसामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए। ट्रम्पले उक्त हिंसा भड्काउन उकासेको भन्दै ट्विटरका तत्कालीन सिइओ ज्याक डोर्सीले उनलाई ट्विटर चलाउन प्रतिबन्ध लगाएका थिए।

ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियल खोलेका थिए।

ट्रम्पका एक्समा अहिले ८ करोड ६६ लाख फ्लोअर्स छन्। ट्रुथ सोसियलमा उनलाई पछ्याउनेको संख्या ६५ लाखमात्र छ।

अर्का अमेरिकी धनाढ्य एलन मस्कले ट्विटर किनेपछि अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न नहुने भन्दै ट्रम्पको प्रतिबन्ध हटाइदिएका थिए।

साढे २ वर्षपछि ट्रम्प एक्समा फर्किएपछि एक्सका मालिक एलन मस्कले प्रतिक्रिया दिएका छन्।

ट्रम्पको पोस्टलाई रिपोस्ट गर्दै उनले लेखेका छन्- नेक्स्ट लेभल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0