अभिनेता दयाहाङ राई तथा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, कम्पोज तथा स्वर छ । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोँकलाई प्रस्तुत गरिएको छ ।
रामबाबु गुरुङ निर्देशित यो फिल्मले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको देखिन्छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरेको छ ।
फिल्ममा आँचल शर्मा दयाहाङको जोडी बनेकी छिन् । यसलाइै वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ ।
बाँसुरी फिल्म्सले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस् सँग मिलेर सिनेमाको निर्माण गरेको हो । फिल्ममा दयाहाङ र आँचलका साथमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।
यो फिल्म आगामी चैत ३० गतेदेखि नेपाली नयाँ वर्षको अवसर पारेर रिलिज हुनेछ । फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

