काठमाडौँ, वैशाख ३० गते
चालु आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा विप्रेषण आप्रवाह १९।८ प्रतिशतले वृद्धि हुँदै १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४।२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३।९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १२ हजार ७२१ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७।८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

