काठमाडौँ, २५ साउन । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा भने अन्य स्थानमा भन्दा भिन्न र मौलिक शैलीमा मनाएको छ । भक्तपुरमा गाईजात्राको प्रमुख आकर्षण घिन्ताङकिसी र माक प्याख नाच नाचेर गाईजात्रा पर्व मनाउने गरिन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वका रुपमा भक्तपुर नगरको गाईजात्रालाई लिने समेत गरिन्छ । मृतकका घरबाट गाई निकाल्दा आफन्त मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ, भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टा सहितका झाँकी नगरपरिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच रहेको छ । अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासा समेत मुख्य रहेको बताइएको छ । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्ग जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास रही आएको छ । भक्तपुरका कुमाले समूदायले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगरपरिक्रमा गराउँछन् । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीति लीला, रामायण र श्रीकृष्णा लीला पनि प्रदर्शन गरिन्छ ।
गाईजात्राको दिन विधि वत्रुपमा गाईलाई परिक्रममा गराएमा मृतात्माहरु सजिलै स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिकविश्वासले गाईजात्रा निकाल्छ । भक्तपुरमा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासा निकालेपछि गाईजात्रा सम्पन्न गरिन्छ । भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म नौ दिन आठ रात मनाइन्छ ।।

