काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता गर्ने विषयमा छलफल गर्न भन्दै नेत्रबिक्रम चन्द विप्लवको घरमा पुग्नु भएको छ । सोमबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न उहाँकै निवास हरिसिद्धिमा पुग्नु भएका माओबादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि स्थायी समितिले निर्णय गरिसकेकाले सोही अनुसार निष्कर्षमा पुग्नेबारे छलफल गर्न गएको बताइएको छ ।
विप्लव निवासमा ४५ मिनेट बसेका उहाँले राजनीतिक थोरै कुराकानी भएको बताएपनि खासमा उहाँहरुबीच के कुराकानी भयो भन्ने बारे केही भन्न चाहेनन । विप्लवका सचिवालय सदस्य नारायण चन्दका अनुसार प्रचण्ड र विप्लवबिच समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने र पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको बताउनु भएको छ ।
प्रचण्डले पार्टी एकता गर्ने निर्णय हाम्रो पार्टीको स्थायी समिति गरिसकेको बताउनु भएको छ । एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउन तपाईंको पार्टीले पनि सकारात्मक निर्णय गर्ने विश्वास लिएको उहाँले बताउनु भएको उल्लेख गरिएको छ । महासचिव विप्लवले पार्टीको केन्द्रीय समिति बैठक भदौ २२ मा बस्ने बैठकले निर्णय गर्ने समेत बताइएको जनाइएको छ ।