काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन शनिबार चीन जाने कार्यक्रम रहेको छ । क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने यो सङ्गठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर हुने समेत विश्वास लिइएको छ ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच प्रधानमन्त्री ओलीको दुई पक्षीय भेटवार्ता तय हुने क्रम जारी रहेको छ। भ्रमणको कार्यक्रमबारे परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ भने भ्रमण दलमा रहेका सदस्यबीच प्रधानमन्त्री ओलीको उपस्थितिमा मन्त्रालयले आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ समेत भई सकेको छ । प्रधानमन्त्री ओलीसहित २३ सदस्यीय टोलीलाई मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल कुमारराज खरेलले विस्तृत कार्यक्रम र व्यवस्थापकीय पक्षबारे जानकारी गराए।
भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले शुक्रवार प्रतिनिधिसभामा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गते ९अगष्ट ३० देखि सेप्टेम्बर ३०० सम्म चीनको तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिवार बिहान तियानमिन प्रस्थान गर्ने छन्। उनले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागिता जनाउने छन्।
उहाँले भदौ १६ गते तियानमिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी विश्वका केही नेताहरूसँग भेटवार्ता गर्नेछन्। हालसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओपिपुल्स, क्याम्बोडिया राष्ट्ररसरकार प्रमुखसँग भेटवार्ता गर्ने तय भएको छ। त्यसैगरी, प्रधानमन्त्री ओली भदौ १७ गते तियानमिनबाट बेइजिङ जाने र चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन्। उहाँले भदौ १८ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रमको परेडमासमेत सहभागिता जनाउने छन्।
भ्रमण दल सोही दिन राति स्वदेश फर्कनेछ। भ्रमण दलमा प्रधानमन्त्री ओलीको धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा ९एमाले०का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहनुभएको छ । प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गत मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए।
उक्त भ्रमणका अवसरमा नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) को कार्यढाँचामा दुई मुलुकले हस्ताक्षर गरी प्राथमिकता प्राप्त आयोजनाको सूचीकरण र सहकार्यको प्रक्रिया सुरु भएको छ।