काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि गर्न लाग्नु भएको चीन भ्रमणबारे सदनलाई जानकारी गराउनु भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्नेक्रममा उहाँले सो जानकारी गराउनु भएको हो । उहाँले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदृखि १८ सम्म ५ दिने भ्रमणमा जान लागेको बताउनु भएको छ ।
उहाँले भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु रहेको समेत जनाउनु भएको छ । भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्री ओलीले ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी आफ्नो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्ने बताउदै त्यसमा विश्वस्त रहन समेत आग्रह गर्नुभएको छ ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट हुनुका साथै बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट हुने उहाँले बताउनु भएको छ । एससीओ शिखर सम्मेलनका दौरान विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको बताउनु भएको छ ।
हालसम्म रूसीका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको बताए । कार्यसूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट्ने बारे भने केही उल्लेख गरिएको छैन ।