भक्तपुरको ख्वप कलेज, युनिभर्सल मोडर्न कलेज र चीनको हेबेई आर्थिक तथा व्यापार विश्वविद्यालयबीच शैक्षिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
२०२५ अगस्ट २७ मा होटल भदगाउँ, भक्तपुरमा आयोजित समारोहमा हेबेई विश्वविद्यालयका उपकुलपति प्रा. डा. वाङ छोङरुन, ख्वप कलेजका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ र युनिभर्सल मोडर्न कलेजका प्रिन्सिपल अनिल कास्पालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। यसले नेपाल–चीनबीचको शैक्षिक सहकार्यमा नयाँ अध्याय थपेको आयोजकहरूले बताएका छन्।
चिनियाँ प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय विनिमय केन्द्रका निर्देशक प्रा. शाङ लीवेई, लेखाशास्त्र संकायका डिन प्रा. डा. ली सिवेन र प्रमुख ली लान्ताओ लगायत सहभागी थिए। उनीहरूको स्वागत बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँसहित दुवै कलेजका प्रिन्सिपल र स्थानीय शिक्षकहरूले गरेका थिए।
सम्झौताअनुसार ख्वप कलेजमा चिनियाँ भाषा तथा संस्कृति केन्द्र स्थापना हुनेछ। यसमार्फत भाषा सिकाइ, सांस्कृतिक आदानप्रदान, कार्यशाला र संयुक्त शैक्षिक गतिविधिहरू सञ्चालन हुनेछन्। ख्वप र युनिभर्सल मोडर्न कलेज दुवैले २०२२ देखि काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा चिनियाँ भाषा कक्षा सञ्चालन गर्दै आएका छन्।
कार्यक्रममा चिनियाँ भाषा अध्यापनमा योगदान पुर्याउँदै आएका शिक्षक प्रणय चित्रकारलाई विशेष सम्मान गरिएको थियो। साथै स्वागत नृत्य, प्रमुख वक्ताहरूका सम्बोधन र स्थानीय चिनियाँ भाषा शिक्षकहरूको परिचय कार्यक्रमसमेत भएको थियो।
हस्ताक्षरपछि चिनियाँ टोलीले युनिभर्सल मोडर्न कलेज, ख्वप कलेज र बाल विकास अंग्रेजी माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरी भाषा कक्षा तथा शैक्षिक अवस्थाबारे जानकारी लिएको थियो ।
समापनमा उपकुलपति प्रा. डा. वाङले नेपाली पक्षलाई धन्यवाद दिँदै सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे। यसले नेपाल–चीनबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको छ।

