Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले जनाएको छ । सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु, घाइते र मनपरि रुपमा पक्राउ गर्दा गहिरो मानसिक आघात परेको उल्लेख गरेको छ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई औपचारिक रूपमा बुझाइएको समेत बताइएको छ। यसले स्वास्थ्य, मनोसामाजिक सहयोग, सुरक्षा, कानुनी सहायता र शिक्षाजस्ता क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको देखाएको छ। सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले सरकारने तुरुन्तै आवश्यक कदम चालेर आफ्नो जिम्मेवारी सुनिश्चित गर्न, अत्यधिक बल प्रयोग नगर्न, पीडितलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन र जेनजी आन्दोलनका क्रममा भएको हिंसा तथा राज्यद्वारा भएको दमनको स्वतन्त्र छानबिन सुरु गर्नु आग्रह गर्नुभएको छ ।

अध्ययनका मुख्य सिफारिसहरूमा, राज्य हिंसाबाट उत्पन्न आघात र पुस्तान्तरगत असर सम्बोधन गर्न बालमैत्री मासिक स्वास्थ्य तथा मनोसामाजिक सेवाहरूलाई सुदृढ बनाउने, बालबालिका, युवा र राज्य संयन्त्रबीच विश्वासको पुनःस्थापना गर्न शान्ति निर्माण र द्वन्द्व रूपान्तरणका दृष्टिकोणलाई समावेश गर्ने, राज्यका सुरक्षा निकाय र सुरक्षाकर्मीलाई बालअधिकारबारे संवेदनशील बनाउने र जवाफदेही प्रणालीलाई बलियो बनाउने विषय समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0