काठमाडौं । चाडपर्वलाई लक्षित गरि उपत्यका बाहिर जाने यात्रुको सहजतालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । ट्राफिक प्रहरीले काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जसअनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए। यस्तै, यात्रु सहायता कक्षले प्रत्येक टिकट काउन्टरमा भाडादर टाँस्न लगाउनेछ। सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ।