Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं । नेपाल बार एसोसिएसनले सञ्चार माध्यमबाट स्वतन्त्र न्यायपालिकालाई भय र त्रासको वातावरणमा राखी निर्देशित न्यायालय सञ्चालन गर्ने कुचेष्टा भएको भन्दै त्यसप्रति घोर आपत्ती गरेको छ । नेपाल बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका एसोसिएसनको मान्यता रहेको उल्लेख गर्दै यसमाथि हुने कुनै पनि जोर–जुलुम, जबरजस्ती र अवैधानिक गतिविधिको सख्त विरोध गर्ने समेत बताउनु भएको छ ।

उहाँले एसोसिएसनले न्यायपालिकाको सुधार वैधानिक संयन्त्र मार्फत व्यापक परामर्शमा हुनु पर्नेमा जोड दिनुभएको छ । देश जतिसुकै कठिन मोडमा भए पनि कानूनको शासनको आधारभूत मानक र स्वच्छ सुनुवाई सहितको मानव अधिकारको आधारभूत मापदण्डलाई बेवास्ता गर्न नमिल्ने समेत उहाँले बताउनु भएको छ । नेपाल प्रहरी सहित सुरक्षा निकायको मनोबल खस्कने गरी भएका हर्कत प्रति सरकार गम्भीर हुनुपर्ने भन्दै आवेश, आक्रोस र अराजकताले हिंसाको दुश्चक्र निम्त्याउने चेतावनी समेत बारले दिएको छ । एसोसिएसनले दिगो शान्ति संवाद र सहकार्यबाट मात्र सम्भव रहेकाले व्यापक संवाद गर्न सरकारसँग अनुरोध समेत बारले गरेको छ ।

एसोसिएसनले सर्वोच्च अदालतसहित सम्पूर्ण अदालतहरूको काम कारबाही अविलम्ब नियमित रूपमा सुचारु गर्न माग गर्दै जनताको न्यायसम्बन्धी हक कुनै पनि क्षण अवरुद्ध गर्न नहुने स्पष्ट पारेको छ । साथै, भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र तोडफोडको छानबिन गर्न गठित आयोगका अध्यक्षको पूर्व धारणाले निष्पक्षतामा आँच आएको भन्दै आयोगको प्रतिवेदनले विश्वसनीयता गुमाउने आम धारणा बनेकोमा समेत चिन्ता व्यक्त गरेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0