भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार विद्यमान संविधानलाई लत्याउदै बलमिच्याइँबाट बनेको बताउनु भएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा विहिबार सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नभएकाले र कार्की नेतृत्व सरकारले गठन गरेको आयोगलाई नमान्ने समेत बताउनु भएको छ । उहाँले अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभएको बताउदै संसद् विघटन भएमात्रै प्रधानमन्त्री बन्छु, नत्र देशमा जेन जीले आगो बाल्ने छन भन्दै लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभएको बताउनु भएको छ ।
संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन जी बनेर सडकमा उत्रिएको समेत उहाँको टिप्पणी रहेको छ । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताउनु भएको छ । उहाँले ‘यो सरकार नेपालीको नभएको बताउदै अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ ? कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्नू ।
यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ? उहाँले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताए । अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिनुभएको छ । ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु’, ओलीको भनाइ थियो ।