Prithvi Post

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन् । एमालेको प्रतिस्पर्धा रास्वपासँग नभएको उनको भनाइ छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस देशको पुरानो पार्टी भएको र अहिले पनि कांग्रेस नै प्रतिस्पर्धी शक्ति रहेको बताएका हुन् । ‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ ।

रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ’ उनले भने, ‘तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’ पोखरेलले रास्वपाले समानुपातिकतर्फ मत बढाउने विश्लेषण पनि सुनाए । अघिल्लो चुनावमा समानुपातिक हकमा सहरी क्षेत्रको मत रास्वपालाई धेरै गएको हो । अहिले घट्ने देखिन्छ ।

तर, प्रत्येक जिल्लामा केही न केही ल्याइहाल्छ, त्यसैले ग्रामिण क्षेत्रको मत बढ्ने आँकलन छ,’ महासचिव पोखरेलले सुनाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव अघिल्लो निर्वाचनको तुलनामा सहरमा घटेको तर गाउँहरूमा बढेको बताए । उनले पार्टीको तल्ला कमिटीले गरेको विश्लेषण सुनाउँदै भने, ‘तपाई हामी सबैलाई रोचक र अनौठो लाग्ला । जहाँबाट रास्वपा जन्म भयो त्यहाँ रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आइरहेको छ ।

तर पहिलाको तुलनामा उसको प्रभाव ग्रामीण क्षेत्रमा बढेको पाइन्छ ।’ ग्रामीण क्षेत्रमा रास्वपाको प्रभाव बढे पनि जित्ने तहमा नरहेको आकलन रहेको पोखरेलको भनाइ छ । नेता पोखरेलले यो पटकको निर्वाचनमा पनि एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हुने विश्लेषण पनि सुनाए ।

कांग्रेसलाई प्रचारमा छैन भन्दैमा कमजोर ठान्नु हुँदैन, पुरानो पार्टी र साइलेन्स पार्टी हो । त्यसैले हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ’, पोखरेलको भनाइ छ । पोखरेलले रास्वपाका नेता बालेन शाह देशका विभिन्न जिल्ला पुग्दा देखिएको भीडलाई नै आधार मान्ने भए निर्वाचन नै आवश्यक नपर्ने बताए । उनले भने, ‘डेढ लाख मतादाता भएको ठाउँमा चार पाँच हजारको भीड नै निर्णायक हो भन्ने विश्लेषण गर्न थालियो भने चुनाव नै चाहिँदैन ।’

साथै उनले पहिलो पटक चर्चामा आएको मानिस हेर्न भीड लाग्ने गरे पनि दोस्रो पटक जाँदा त्यस्तो भीड नलाग्ने पनि बताए । पोखरेलले यो निर्वाचनमा रास्वपाको ग्रामिण क्षेत्रको मत बढ्ने र सहरी क्षेत्रको घट्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0