Prithvi Post

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले आयोडिन मन्थ २०८२ (फेब्रुअरी २०२६) का अवसरमा जनस्वास्थ्यमा आयोडिनयुक्त नुनको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजधानीमा आयोजना गरेको सो कार्यक्रममा पोषणविद् डा. अरुणा उप्रेतीले आयोजना स्वास्थ्यका लागि नभई नहुने तत्व भए पनि आवश्यकभन्दा बढी आयोनुनको प्रयोग घातक हुन बताएकी छिन् ।

उनले बढी नुनको प्रयोगले रक्तचापसँगै अन्य समस्याहरू आउन सक्ने भन्दै नुनको प्रयोगबारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता समेत औंल्याएकी छिन् । डा. उप्रेतीले भनिन्, ‘यहाँ सुरक्षित भविष्यका लागि जीवन बीमा कार्यक्रम भनिन्छ, पैसा बचत गर्ने बानीको विकास गरौं भनिन्छ तर त्योभन्दा पनि महत्वपूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयमा कुनै सचेतना कार्यक्रम हुँदैनन् । स्वस्थ रहन कस्तो खानपान अपनाउने भन्नेबारेमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन हुनुपर्‍यो ।’

उनले बालबालिकाको सुरक्षित भविष्यका लागि उनीहरूलाई ‘जंकफुड’ मुक्त गरिनुपर्ने बताएकीछिन् । बजारमा पाइने तयारी जंकफुडले बालबालिकाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको उनको भनाइ रहेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले आयोडिनयुक्त नुनका नकारात्मक पक्षभन्दा सकारात्मक पक्ष बढी भएकाले नै सरकारले आयोडिनयुक्त नुनलाई सर्वसुलभ बनाएको बताएका छन् ।

सो कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत विश्वराज दाहालले नुन प्रयोगबारे जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कतिपय व्यापारिक स्वार्थ समूहले आयोडिनयुक्त नुनबारे भ्रम फैलाइरहेको आरोप लगाएका छन् । सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव अधिवक्ता पुष्पराम पौडेलले पनि आयोडिनयुक्त नुनको महत्वबारे चर्चा गरेका थिए।

नुनको बिक्रीवितरणमा अति बेथिति, विकृति तथा कालोबजारी हुन थालेपछि २००९ सालदेखि सरकारले निगरानी गर्न थालेको र २०२० सालदेखि संस्थागत रूपमा नै सरकारले बिक्रीवितरण गर्दै आएको छ । नेपालमा बढ्दो शहरीकरण र खानेबानीमा आएको परिवर्तन र तयारी खानेकुरा अर्थात् पत्रु खाद्य पदार्थको प्रयोग बढ्दै गएको छ भने स्वास्थ्य मापदण्डभन्दा बढी अर्थात् दैनिक पाँच ग्राम आयोनुनमात्र शरीरलाई आवश्यक पर्नेमा अधिकतम अर्थात् १० देखि २० ग्रामसम्म उपभोग हुन थालेको विज्ञहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0