Prithvi Post

कल्पना भण्डारी 

“हैन हाे !  याे घरमा अझै उठेका छैनन् कि के हाे ?” भन्दै घरबेटी आमाले ढोका ढक्ढक्याउनुभयाे । रिताले अँधेराे मुख पार्दै ढाेका खाेलिन् । आमा “के भयाे अँध्यारो अनुहार छ त ?” भन्दै भित्र पस्नुभयाे ।

रिताले भनिन् “के हुनु आमा, नानी बिमारी भएर रातभरि सुतेकी छैन ।” आमाले “के भेछ त कालीलाई” भन्दै नानीलाई सुम्सुमाउँदै भन्नुभयो “ए रिता ! मलाई दुईचार हजार सापटी देऊ न है ?” रिताले भनिन् “आमा म कसरी भनूँ हजुरलाई पैसा छैन भनेर, म आफै तनाबमा छु।”  तिनले रितालाई भनिन् “के साराे हाे ? सरकारी जागिरेको घरमा पैसा छैन भनेर कसैले पत्याउँछ ? सिधै भन न दिन्न भनेर ।” रिताले भनिन् “आमा ! याे सहरमा पैसा जाेगाउन सारै गार्‍हो हुँदाे रहेछ । मलाई त घर धान्न धेरै मुस्किल । भन्नै पर्दा तलबले नपुगेर उल्टै ऋण लागेकाे छ । दुइटा कोठाको हजुरलाई बाह्र हजार र नानीहरूकाे पनि पन्ध्र हजार तिर्छु । भन्नुहोस् त हाम्रो कति जाेगिएला ? नानीलाई हस्पिटल लानकाे लागी पैसा नभएर सिटामाेलले हुन्छ कि भन्दै खुवाएर बसेकी छु।” आमाले भन्नुभयो “हैन हाे, बाहिर हेर्दा धेरै राम्रो देख्छु । अरुकाे अगाडि त रिमिकझिमिकै छाै त ?” रिताले जबाफ फर्काइन् “हैन आमा! हजुरकाे घरमा के समस्या छ मलाई भने पाे था हुन्छ । नभन्दा के था त । त्यस्तै मेराे पनि हरेक समस्या छ । सबै के सुनाऊँ म ? भन्दै हिड्ने कुरा हुँदैन ।”  “ल ल ठिकै छ, म अब अरूलाई नै भन्छु ” भन्दै आमा रिसाएर हिड्नुभयाे ।

“हस् आमा” भन्दै घरधन्दा गर्न लागिन् रिता । फेरि “ए रिता बजेट भाषणले तलब कति बढायाे ?  एकहजार जति बढाउनुपर्छ है” भन्दै घरबेटी आमा जानुभयो । एक हप्तापछि रिता घरभाडा बुझाउन जाँदा त “एकहजार किन कम ? मैले अस्ति नै भनेको है भाडा बढ्छ भनेर ? दिए देऊ नदिए काेठा सरेर जाऊ” भन्दै आमा कराउनुभयाे । रिताले भनिन् “आमा हाम्रो त झन् घटेर आकाे छ तलब । हजुरलाई कसरी बढी भाडा दिऊँँ”  मात्रै भनेकी थिइन् । घरबेटी आमाले काेठा सरिहाल्न भन्नुभयाे । रिताहरु काेठा सरेर पायक पर्ने ठाउँमा गए ।

एकदिन रितासँग बाटामा पहिलेकी छिमेकी भेटिइन् । उनलेे “रिता! तिमीहरू हिँडेदेखि त्याे घर खाली नै छ” भन्दै सुनाइन् । रिताले भनिन् “पहिलाकाे घरबेटीभन्दा पछि सरेकाे घरबेटी धेरै राम्रो र दु:खसुखमा भरथेग गर्ने सह्योगी हुनुहुन्छ ।”
अर्को दिन त पहिलेकी घरबेटी आमासँग अचानक बजारमा भेट भयो । उनले रितालाई अँगालो हालेर “फेरि फर्केर आऊ, बरु कम लिन्छु” भन्दै रुन पो थालिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0