काठमाडौँ । नेपाली कांग्रेसका काठमाडौँ–४ का उम्मेदवार सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले सोमबार सार्वजनिक गरेको प्रतिज्ञापत्रमा ५ वर्षभित्र हासिल गर्ने १० वटा ठोस उपलब्धिलाई कार्य–सम्पादनको मानकका रूपमा प्रस्तुत गरेका छन् ।
राजनीतिलाई नागरिकको क्षमता विस्तार र समान अवसर सुनिश्चित गर्ने माध्यमका रूपमा परिभाषित गर्दै, सुशासन र व्यक्तिगत स्वतन्त्रता आफ्नो मुख्य सिद्धान्त रहेको तिमल्सेनाले बताएका छन् । तिमल्सेनाले सुशासनलाई प्राथमिकता दिँदै अनावश्यक तजबिजी अधिकार कटौती गर्ने, सरकारी सेवालाई डिजिटल र ‘फेसलेस’ बनाउने र विधिको शासनको प्रवर्द्धन गर्ने प्रतिज्ञा गरेका छन्।
सडक, ट्राफिक व्यवस्थापन, फुटपाथ र वैकल्पिक यातायातको सुधार गर्ने, भूमि सुधार अन्तर्गत, कपन क्षेत्रमा रहेको अव्यवस्थित बसोबासलाई वर्गीकरण गरी समाधान गर्ने योजना उनले समेटेका छन् । कृषि क्षेत्रलाई आधुनिक बनाउन भू–उपयोग सम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने, चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने र अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि कानुनी आधार तयार गर्ने प्रतिज्ञा तिमल्सेनाले गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा, बिमामा आधारित एकीकृत स्वास्थ्य प्रणालीलाई प्राथमिकता दिने उनको भनाइ छ । नेपाललाई ‘डिजिटल नो–म्याड’ गन्तव्य बनाउने, पुरानो कानुनलाई खारेज गरी नयाँ साइबर सुरक्षा र ई–कमर्स ऐन ल्याउने, र ‘नियमनकारी छुट’ को कानुनी व्यवस्था गर्ने र युवाहरूलाई ‘डिजिटल उद्यमी’ बनाउने कार्यक्रम ल्याउने उल्लेख छ ।

