काठमाडौँ। नेकपा एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनबारे ५ विषयमा प्रस्ट पारेको छ । मंगलबार आम निर्वाचन २०८२ का एमाले प्रचार संयोजक मीन बहादुर शाहीले पत्रकार सम्मेलन गर्दै पार्टीको धारणा प्रस्ट पारेका हुन् ।
पत्रकार सम्मेलनमा लिखित प्रेस वक्तव्य वाचन गर्दै शाहीले निर्वाचनको सम्मुखमा सरकारले निषेधाज्ञा, कर्फ्यु लगाएर डर त्रास सिर्जना गरेकोमा चिन्ता प्रकट गर्दै एमालेको लोकप्रियता बढेको तथा कथित ‘भोट फर चेन्ज’ नभई ‘भोट फर नेशन’ भन्ने उच्च मनोबलका साथ एमालेका नेता कार्यकर्ता जनताको घरघरमा पुगिरहेको बताएका छन् ।
त्यस्तै एमालेले न्याय मर्न नहुने पनि बताएको छ । उसले जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक नगर्दै महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई धोइपखालीजसरी वासिङ मेसिनको काम गरेको एमालेले बताएको छ।
त्यस्तै एमालेले निर्वाचनको सम्मुखमा सर्वेक्षणका नाममा जनमत प्रभावित पार्ने कामको पनि विरोध गरेको छ । उसले सामाजिक सञ्जालको दुरुपयोग गरेर निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार प्रसार भइरहेकोमा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

