Prithvi Post

भदौ-०५

चार देशसम्मिलित महिला टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपालले सिरिजमा विजयी सुरुवात गरेको हो ।

नेपालले अब सिरिजमा २३ अगस्टमा कुवेत र २५ अगस्टमा मलेसियाको सामना गर्नेछ । यो सिरिजपछि नेपालले २८ अगस्टमा थाइल्याण्डसँग अभ्यास खेल खेल्ने तालिका छ ।

हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५।५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । नेपालका लागि सम्झना खड्काले अविजित ३६, पूजा महतोले १६, कप्तान रुबिना क्षेत्रीले १० र इन्दु वर्माले ९ रनको योगदान दिए । विन्दु रावल शून्यमै आउट हुँदा सीता राना मगर ३ रनमा अविजित रहिन् ।

हङकङका लागि कप्तान क्यारी चानसहित चार बलरले समान एक विकेट लिए । त्यसअघि बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १९।१ ओभरमा ८४ रनमा अलआउट भयो । उसका लागि कप्तान क्यारी चानले ३४ र डोरोथिया चानले १६ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि सीताराना मगरले ४ ओभरमा १६ रन दिएर ५ विकेट लिइन् । यस्तै, इन्दु वर्माले २, कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्रीले एकएक विकेट हात पारे ।

 

एसिया क्षेत्र छनोट ३१ अगस्टदेखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुँदैछ । नेपाल रहेको समूहमा यूएई, कतार, मलेसिया, भुटान र बहराइन तथा समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टिमले आउँदो वर्षको टी–२० विश्वकप खेल्न पाउनेछन् ।

विश्वकप छनोटका लागि नेपालको टोली : रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0