काठमाडौं । देशभरिका इटा उद्योगीहरुले यो वर्ष माघ १ गतेदेखि मात्रै इटाभटामा इटा पोल्न थाल्ने भएका छन् । नेपाल सरकार वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले पहिला भन्दा ढिला मात्रै इटाभटामा इटा पोल्न आगो लगाउने भएको जनाए ।
वातावरण मन्त्रालयले वातावरण प्रदूषण वढी हुने भएको भन्दै व्यवसायीहरुलाई सकेसम्म फागुनमा मात्रै इटाभटामा इटा पोल्न केही वर्षदेखि अनुरोध गर्दै आएको थियो । तराईमा शित लहर, काठमाडौं उपत्यकामा हुसु भएर वातावरण प्रदूषण वढी हुने सरकारको भनाई हो । माघ फागुनमा हावाहुरी चलेर कम मात्रै वातावरण प्रदूषण हुने भएको जनाइएको छ ।
बागमति प्रदेश इटा व्यवसायी संघका अध्यक्ष आशाकाजी त्वानाबासु व्यवसायीलाई पनि मर्का नपर्ने र वातावरण प्रदूषणलाई पनि ध्यान दिएर यो वर्ष देशभरि साविक भन्दा ढिला मात्रै इटाभटामा इटा पोल्ने मिति तय भएको सुनाए । सरकारले भनेजस्तै फागुनमा मात्रै इटा पोल्न सुरु गर्दा हामी व्यवसायी मर्कामा पर्छाै, उनले भने, यसो भनेर वातावरण प्रदूषण हुने विषयलाई पनि वेवास्ता गर्न भएन, त्यही कारण दुवैलाई मिलाएर माघ १ गतेमात्रै इटा पोल्ने भएका हौंं । माघदेखि जेठसम्म गर्दा व्यवसायीलाई पनि पाँच महिना काम गर्न पाइने भएर खासै समस्या नभएको उनको भनाई थियो ।
भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले भक्तपुरले सरकारको अनुरोधलाई स्वीकार गरी गतवर्षदेखि नै माघ १ गते मात्रै इटा पोल्न थालेको स्मरण गरे । मंसिर महिना सिद्धिए लगत्तै भक्तपुरमा काँचो इँटा उत्पादन सुरु भएको भए पनि माघ १ गतेदेखि मात्रै इटा पोल्न थाल्ने उनले सुनाए ।
यहाँका इँटाभट्टामा भक्तपुरसँगै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, बारा, पर्सा, सर्लाही, महोत्तरी, सिराहा, सप्तरीलगायत जिल्लाका मजदुर परिवारसहित इँटा पार्न आउँछन् । त्यस्तै पश्चिमका रुकुम, रोल्पा, सल्यान र बाँकेका मजदुर इँट बोक्न भक्तपुरसम्म आउने गरेका छन् ।
जिल्लाका इँटा व्यवसायीका अनुसार अहिले पनि इँटा पार्ने मजदुर आउने क्रम जारी छ । इँटा पार्ने मजदुर सबै आइनसकेकाले इँटा बोक्ने मजदुर पनि आउन बाँकी रहेको उनीहरूको भनाइ छ । त्यस्तै इँटा पोल्ने भट्टामा काम गर्ने बोझाइम्यान र फायरम्यान पनि आउनै काँकी छ । व्यवसायीहरूका अनुसार बोझाइम्यान र फायरम्यान सबै भारतबाट आउँछन् । इँटाभट्टामा आगो लगाउने समय नभएसम्म उनीहरू आउँदैनन् ।
एउटा इँटाभट्टाले करिब ४५ लाखसम्म पाको इँटा उत्पादन गर्ने तथ्यांक छ । नेपालभरि ११ देखि १२ सय इटा उद्योग रहेको तथ्यांक छ । ३० वटा इटा उद्योग रहेको तथ्यांक छ । बागमति प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङलगायतका जिल्लामा इटा उद्योग सञ्चालन हुन्छन् । यसबाहेक बागमति प्रदेशबाहेक सर्लाही, रौतहटलगायतका तराई जिल्लाहरुमा इटा उद्योग सञ्चालन हुन्छन् । साइज र गुणस्तर अनुसार अहिले सामान्यतया एक हजार पाको इटाको मूल्य डेलिभरीसहित १५ हजारदेखि १६ हजारसम्म रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

