भक्तपुर । जिल्ला खोप समन्वय समिति भक्तपुरले एचपीभी खोप अभियान २०८१ अन्तर्गत खोप समन्वय समितिका पदाधिकारी एवं सञ्चारकर्मीहरुका लागि सोमबार भक्तपुरमा अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी गरयो । गोष्ठीमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा.अभियान गौतमलगायत भक्तपुर जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुले पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको जनाए ।
गोष्ठीमा भक्तपुर जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति भक्तपुरका सभापति ईश्वरबहादुर थापाले जिल्लाका चारवटै नगरपालिकाभित्रका विद्यालयका छात्राहरु र बिद्यालय बाहिरका किशोरीहरुलाई सफलतापूर्वक खोप लगाइदिने बताए । जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बाडेले खोप अभियानका योजनाबारे सुनाइन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाको खोप अभियानलाई सफल पार्न सवैलाग्नुपर्ने खाँंचो औल्याए । गोष्ठीमा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जिल्लामा विद्यालयभित्रका १६ हजार ६ सय २८ र बिद्यालय बाहिरका एक हजार ६३ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको जानकारी गराए ।
केन्द्रिय सरकार
नेपाल सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका झण्डै १७ लाख किशोरीहरुलाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर गराउनेविरुद्धको खोप) लगाउने भएको छ । देशभर एकैसाथ देशका विभिन्न ठाउँंका विद्यालयहरुमा खोप केन्द्र राखेर कक्षा ६ देखि १० सम्म विद्यालय जाने किशोरीहरुलाई र अन्य विभिन्न ठाउँंहरुमा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष समूहका किशोरीहरुलाई खोप दिइन लागेको हो । यसका लागि खोप जिल्लाजिल्लामा पुगिसकेको जनाइएको छ । खोप निःशुल्क दिइने छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार विद्यालय भित्र र बाहिरका गरी कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।
यसका लागि देशभरका १८ हजार नौ सय विद्यालयहरुमध्ये आठ हजार दुई सय विद्यालयहरुमा खोप केन्द्र रहने छन् । कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीहरुलाई नजिकै रहेको विद्यालय वा अन्य खोप केन्द्रमा लगेर खोप दिलाइने छ । विद्यालय बाहिरका किशोरीहरुका लागि विद्यालय बाहिरका अन्य केन्द्रहरुमा लगेर खोप दिलाइने छन् । यसका लागि २७ हजार ८० जना स्वास्थ्यकर्मीहरू परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार ६ सय ७४ सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो रहेका कारण नर्याँ विकशित यो खोप नेपालमा पनि दिन लागिएको हो । विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर किशोरीलाई खोप दिन लागिएको हो । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउने तथ्यांक छ ।
नेपालमा पाठेघरमा हुने क्यान्सका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्यांक छ । पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको संख्या र मृत्यु हुने सख्या नेपालमा बर्सेनि बढ्दै गएको तथ्यांक छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरूमा यो चौथो स्थानमा रहेको छ ।
नीति
नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ । राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२÷७३ र २०७३÷७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी) को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’ को रूपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ ।
खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१÷८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा. गौतमले खोप यही पुसको मध्य सम्ममा आइपुग्ने बताए । उनका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । ’अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ’, उनले भने । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै आइपुग्ने उनको भनाइ छ ।
के हो एचपीभी खोप ?
चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरू बताउँछन् ।
सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

