Prithvi Post

भक्तपुर । मानिस प्राणीमध्येमा सर्वश्रेष्ठ मानिन्छ । तथापि मानिसहरु जथाभावी फोहोर गर्नु हुँंदैन भन्ने सामान्य ज्ञान हुँंदाहुँदै पनि त्यसलाई वेवास्ता गरिरहेका हुन्छन् । यही वेवास्ताको सिकार छ, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूस्थित कार्की गाउँं नजिकको पिकनिकस्थल मन्थली डाँंडाको ।
झण्डै एक सय रोपनीको क्षेत्रफलमा फैलिएको मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँ पिकनिक स्पोटको रूपमा केही वर्षअघिदेखि चर्चित रहेको छ । यहाँं विशेष गरेर शनिबार पिकनिक आउनेहरुको संख्या ठुलै रहन्छ । यही कारण यहाँं चारैतिर फोहरै फोहोर छ । पिकनिक स्पोर्ट आसपास जताततै पानीका बोटल, रक्सीका बोटलहरू, प्लाष्टिक, शिशाका टुक्रा फालिराखेका देखिन्छन् ।
यही नाजुक अवस्थाको मूल्यांकन गरी बुधबार भक्तपुरका स्कुले बालबालिकाहरुले त्यहाँं पुगेर सरसफाई गरेका छन् । जिल्लास्थित एभरेस्ट इगलिश स्कुलमा कक्षा ७ मा अध्ययन गर्ने झण्डै चार दर्जन जना छात्रहरुले त्यस ठाउँंको सरसफाइ गरेका हुन् । शिक्षकशिक्षिका तथा कर्मचारीहरूको साथमा मन्थली डाँडामा पुगेका उनीहरु साढे दस वजेदेखि १२ बजेसम्म सरसफाईमा जुटेका थिए ।
सरसफाइमा छात्राहरु भने सहभागी थिएनन् । छात्राहरुको एचपीभी खोप कार्यक्रम रहेकाले उनीहरु स्कुलमै खोपमा व्यस्त थिए ।
सरसफाईमा संलग्न एकजना छात्र सागर थापामगरले स्कुलबाट यसअघि पनि यस्तो सरसफाईको कार्यक्रममा सहभागी भएको अनुभब सुनाए । यो मेरो दोश्रो पटकको काम हो, उनले थपे, यसअघि मैले भक्तपुरकै प्रख्यात सिद्धपोखरीको सरसफाईमा लाग्ने मौका मिलेको थियो ।
यो ठाउँंमा सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकै ठाउँमा फोहोर संकलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँ आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँमा नफाली जथाभावी फाल्नाले त्यहाँ फोहोर देखिएका थिए । यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँ लगेको थियो ।
स्कुलका स्काउट माष्टर पवनकुमार वल्लले विद्यार्थीलाई यो ठाउँंमा ल्याउनु भन्दा पहिला मंगलबार यस ठाउँंको निरीक्षणमा आफू आएको सुनाए । सौदर्यले भरिपूर्ण सुनसान जंगलको वीचमा रहेको आनन्दमय यो ठाउँंको फोहोर देखेर विद्यार्थीलाई सरसफाईमा ल्याएको उनले सुनाए ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई सानोबेलादेखि नै असल संस्कार सिकाउन समय समयमा यस्तो सामाजिक कार्यक्रमहरुमा सहभागी गराउँंदै आएको जानकारी गराए ।
मन्थलीको यो पिकनिकस्थल भक्तपुरको सूर्यविनायक वस स्टपबाट झण्डै दुई किलोमिटर दक्षिणमा पर्दछ । सूर्यविनायक बस स्टपबाट एक किलोमिटर दक्षिण प्रसिद्ध गणेश मन्दिर पुगेर जगलै जंगलको कालोपत्रे बाटोबाट यहाँं पुगिन्छ । एउटा जंगल पार गरेपछि गुण्डूमा अर्काे वस्ती कार्की गाउँ भेटिन्छ । कार्की गाउँं नुपुग्दै यो पिकनिक स्पोर्ट पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।