भक्तपुर । भक्तपुरको सूर्यविनायक–धुलिखेल सडक खण्डअन्तर्गत अरनिको राजमार्गमा आठ दशमलव चार किमि सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ । यस संरचनामा काभ्रेपलाञ्चोकतर्फ साँगा–धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरण उल्लेख गरिएको छ । यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पीपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् ।
आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक ढाँचाका विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ । “हामी साँगा–धुलिखेल सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल गरिरहेका छौँ, आयोजना छलफलकै आधारमा उपयुक्त विकल्पमा जाने पनि तयारी गर्दै छौँ,” आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भन्नुभयो ।
आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिर नजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने जनाएको छ । यस्तै नासिका मन्दिरको वरिपरिको ‘वाल’ संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयवासीले भने नासिका मन्दिरको ऐतिहासिक महत्व भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो । साँगाको ढुङ्गेधारा केही पर सारी पानीट्याङ्कीसहितको निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ भने भैँसेपाटीमा रहेका दुई कुवालाई दाहिनेतिर इन्टेक निर्माण गरी ट्याङ्कीसहितको ढुङ्गेधारा निर्माणको प्रस्ताव गरिएको छ । स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

