काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको गतिविधि प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । .सोमबार एमाले पार्टी कार्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउने क्रममा उहाँले सो असन्तुष्टी व्यक्त गर्नुभएको हो । नेकपा एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनले पार्टी हित विपरीत आफ्नो गतिविधि गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको उहाले बताउनुभयो ।
ओलीले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने अन्यौल नै रहेको जिकिर गर्नुभयो । उहाले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने बताउनुभएको छ ।
उहाँले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई सपथ गराउनुभएको थियो । प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।