काठमाडौं, ६ भदौ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । ‘पाइप लाइनबाट नियमित रुपमा पेट्रोलियम पदार्थ आयात भइरहेको नेपाल आयाल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले बताउनु भएको छ । उहाँले पाइन लाइनबाट ल्याइएको पेट्रोेलियम पदार्थको परीक्षण काम पनि भइरहेको बताउर्दै त्यसका लागि भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिरहेको समेत बताउनु भएको छ ।
पाइप लाइनमा कुनै समस्या देखिएको खण्डमा तत्कालै मर्मत सम्भार भइरहेको छ, परीक्षणको कामसमेत सकिएकाले छिट्टै पाइप लाइन हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले बताउनु भएको छ । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी हस्तान्तरण गर्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको प्रमुख आचार्यले बताउनु भएको । अमलेखगञ्जबाट लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै पाइप लाइन निर्माणको कामले तिव्रता लिने नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख आचार्यले बताउनु भएको छ ।
चितवनको लोथरमा कुल २३ बिघा १२ कठ्ठा जग्गामा ग्रिनफिल्डसहितको एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नसक्ने टनेल निर्माण गरिने प्रमुख आचार्यले बताउनु भएको छ । नेपाल–भारतबीच ‘जिटुजी’ सम्झौता मार्फत निर्माण हुन लागेको अमलेखगञ्ज–लोथर पाइप लाइन विस्तारको काम भारतीय आयल निगमले गर्नेछ ।