Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं, ८ भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच आईतबार शिष्टचार भेटबार्ता भएको छ । काठमाण्डौमा रहेको होटल याक एन्ड यतीमा भएको सो भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ । बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समग्र छलफल भएको बताउनु भएको छ । उहाँका अनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका लागि एअर कनेक्टिभिटी बढाउने, साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँले भियतनामको तीव्र आर्थिक वृद्धि नेपालका लागि सिकाइको अवसर भएको उल्लेख गर्दै दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामना गर्न सहकार्य गर्ने सहमति भएको पनि जानकारी दिनुभएको छ । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा हिजो काठमाण्डौ आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कुटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवको अवसरमा भएको हो । यो भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमणसमेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0