Prithvi Post

२२ आश्विन २०८२, बुधबार

वीरगन्ज । वीरगन्जमा पछिल्लो समय हैजा रोग फैलिएका कारण प्रायः सवै अस्पतालमा विरामीको घुईचो लागेको छ । वीरगञ्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको सम्बन्धित चिकित्सकहरुले बताउनु भएको छ । आइतबार सम्मको तथ्यांकअनुसार भदौ ७ गते शनिवार ४२ जनामा पुष्टि भएको सङ्क्रमण भदौ ८ गते आइतबार थप २९ जना नयाँ संक्रमित थपिएर ७१ जना पुगेको बताइएको छ । भने सक्रमितहरुको संख्या समेत थपिने क्रम जारी रहेको जनाइएको छ ।

महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दामा सो रोग फैलिएको बताइएको छ । नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जना बिरामीको उपचार भइरहेको छ ।

यस्तै, झाडापखाला र शंकास्पद हैजाका १६१ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ । हैजा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले संयुक्त रुपमा अभियान सञ्चालन गरेको जनाएपनि त्यो प्रभावकारी नभएको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ । वीरगन्ज महानगरपालिकाले विशेष स्वास्थ्यकर्मी टोली परिचालन गरी संक्रमित क्षेत्रहरूमा नियन्त्रण र रोकथामका गतिविधि अघि बढाएको दाबी गरेको छ ।

यस्तै, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले नारायणी अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक स्वास्थ्य सामग्री आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ । स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले नागरिकलाई सचेत रहन, सफा पानी मात्र पिउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0