काठमाडौं । प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको सभामुख देवराज घिमिरेले बताउनु भएको छ । सभामुख घिमिरेले प्रमुख सचेतकसँग गरेको छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय गरिएको बताइएको छ । शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको बताइएको छ ।
निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भदौ १९ गते पारित गर्ने तयारी रहेको र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय गरिएको छ । भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्य तालिका समेत तय भएको बताइएको छ । बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका छन् ।
शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् । ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।