Prithvi Post

काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको ६ दशमलव ३ तीव्रताको भूकम्पमा परि २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरि उपचार भई रहेको बताइएको छ । सो भूकम्प राति १२ बजेर ४७ मिनेटमा जलालाबाद नजिक गएको जनाइउको छ ।

मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ । नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो । पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए । ठूला परकम्पहरुमा ४ दशमलव ७, ४ दशमलव ३ र ५ दशमलव ० तीव्रता मापन भएको समेत जनाइएको छ ।

यसअघि अफगानिस्तानमा ७ अक्टोबर २०२३ मा विनाशकारी भूकम्प गएको थियो । सो भूकम्पमा ४ हजार जनाको मृत्यु भएको सरकारको तथ्यांक थियो । संयुक्त राष्ट्रसंघले भने १ हजार ५०० जनाको मृत्यु पुष्टि गरेको थियो । गएराति फेरि राजधानी काबुलबाट सडकमार्ग हुँदै १०० माइल भन्दा कम दूरीमा रहेको जलालाबाद केन्द्र भएर भूकम्प गएको हो ।

सरकारी प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै भूकम्पले ‘पूर्वी प्रान्तहरूमा जनधनको क्षति पुर्‍याएको’ बताएका छन् । तर उनले मानवीय क्षतिको विवरण सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0