काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरद्वारा अनिश्चित कर्फ्यु लगाएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भएको छ । सोमबार जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधिलाई मंगलबार बिहान ५ बजेबाट सकिएको केही समयपछि अर्थात साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।
प्रजिअ रिजालले काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको बताउनु भएको छ । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको बताइएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।
यसैगरी, ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको आदेशमा ललितपुर महानगरपालिकाका वडा नं ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं २ स्थित सानोप इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा नं ९ को च्यासल क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो ।
यसैगरी, भक्तपुरमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय भक्तपुर एक सूचना जारी गर्दै जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको जनाएको हो ।