काठमाडौं । राजधानी काठमाडौं खरानी भएपछि नेपाली सेनाले लिएको सुरक्षा जिम्मेवारी पछि अहिले सडकमा सेनाको चेकजाँच कडाई बनाइएको छ । सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भन्दै निर्देशन समेत दिएको छ । सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न भन्दै फर्काइरहेको छ ।
अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जनाएपछि चर्को चेकजाँचपछि छोड्ने गरेको बताएको छ । अहिले काठमाण्डौ उपत्यकाका विभिन्न सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । सोमबार र मंगलबार भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा जनधन तथा भौतिक संरचनामा भएको क्षतिसँगै मंगलबार राति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् ।
शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न समुदायलाई सेनाले आग्रह समेत गरेको छ ।