काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव संविधानको सही कार्यान्वयनबाट नै जेनजीको माग पूरा गर्नुपर्ने बताउनु भएको छ । शुक्रबार एक वक्तव्य जारी गर्दै उहाँले घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति गम्भीरतापूर्वक लिन समेत सवैलाई अपिल गर्नुभएको छ । उहाँले जेन जी आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्याउन जिम्मेवार निकायलाई अपिल समेत गर्नुभएको छ ।
उहाँले यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय भएको समेत बताउनु् भएको छ । उहाँले सात दशकको सपना र सयौँ शहीदको बलिदानपश्चात्, जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ को सही कार्यान्वयनबाट नै जेन–जी पुस्ताका आकाङ्क्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ भन्ने आफ्नो मान्यता रहेको बताउनु भएको छ । युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको उल्लेख गर्नुभएको छ ।